खानीखोला–काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ हरेक दिन बिहानदेखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरिकाले खुवा बनाउने गरिएको छ । यसको व्यवसायिक दायरा फराकिला बनाउन प्रयास जारी देखिन्छ ।

यसैक्रममा वडा नम्बर ५ तालढुंगामा स्थानीय उत्पादन खुवालाई बजारीकरणमा सघाउन खुवा उद्योगको विकास गरिने भएको छ । नमुना शहर बनाउँदै गरेको तालढुंगामा आफ्नो मौलिक ब्रान्ड खुवा हव बनाउने उद्देश्यले खुवा उद्योगको निर्माण गरिन लागेको हो ।

खानीखोला खुवा उद्योगका व्यवस्थापक निर्मल लामाका अनुसार स्थानीय किसानहरुको आवश्यकता र माग अनुसार खुवालाई नेपालकै ब्रान्डको रुपाम स्थापित गर्ने उद्धेश्य राखेर योजना अघि सारिएको हो ।

सुरुमा आफ्नै खुवा उद्योगको लगानीमा दुधको खुवा बनाउने उद्योग स्थापना गर्ने तयारी गरिरहेको व्यवस्थापक निर्मल लामाले यो उद्योग निर्माण कार्यका लागि खानिखोला गाउँपालिकाको साथ रहेको जानकारी दिनुभयो ।

अहिले खुवा उद्योगका लागि चाहिने भवनको काम शुरु गरिएको छ भने उपकरण तथा सामाग्री धमाधम आयात भइरहेको छ । हाल कुल ५ करोडको लागत इष्टिमेटमा काम अघि बढेको छ । आवश्यकता अनुसार पूर्वाधार विकासका काम गर्दै जाने उद्योगको तयारी छ ।

खुवाको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रुपमा पुग्ने गरेको व्यवसायी लामा बताउनुहुन्छ । यसले देश तथा पालिकाको अर्थतन्त्रमा पनि ठूलो हिस्सा जोडेको छ । पहिला प्रति धार्नी रु ६०० सय सम्म खुवा बेच्ने गरेकोमा अहिले खुवाको मूल्य प्रति धार्नी रु ९०० सय रुपैयाँ पुगेको छ ।

खानिखोलामा महिनामा १० हजार धार्नी खुवा उत्पादन हुने गरेको पाइन्छ । तर बजारीकरण,यातायात सेवाको पहँुचमा समस्या लगायतका कारण अरु पालिकाको तुलनामा रु ५०० सय कम मुल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ । यसरी महिनामा रु ५० लाख बराबरको कम मुल्यमा खुवा बिक्री हुदै आएको छ ।

किसानलाई उचित तथा राम्रो मुल्य दिलाउन यो उद्योगको स्थापना गर्न लागेको उद्योगका व्यवस्थापक लामा भन्नुहुन्छ । यो योजना अघि बढेमा स्थानीय किसानले आफ्नो उत्पादनको राम्रो मुल्य पाउने विश्वास गरिएको छ । लामा यो क्षेत्रलाई खुवाको ‘हव’ बनाउन नयाँ किसानहरुलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

अबको योजना छिमेकी जिल्ला मकवानपुर ,सिन्धुली , खानिखोलाका सातै वडाबाट ५ हजार देखि ७ हजार दुध संकलन गरी आधुनिक मेसिनबाट खुवा बनाउने र दुध चिस्यान केन्द्रको समेत स्थापना गर्ने खानिखोला खुवा उद्योगको उद्धेश्य रहेको जनाईएको छ ।

खानीखोला गाउँपालिका सरकारले पनि स्थानीय उत्पादन तथा बजारीकरणमार्फत जनताको आर्थिक समृद्धिमा जोड दिदै विभिन्न नीति तथा कार्यक्रमहरु कार्यन्वयन गर्दै आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !