
काभ्रेपलाञ्चोक-खानीखोला गाउँपालिका–१ कोठे स्थित दायाँ गाउँमा पानीको आपूर्ति सहज हुने भएको छ । यहाँको खानेपानी समस्यालाई मध्यनजर गर्दै झण्डै ३ करोडको लागतमा बृहत् खानेपानी आयोजना निर्माण थालिएको हो ।
संघीय सरकारको विषेश अनुदानमा २ करोड ७६ लाख ८५ हजार लागतको आयोजना अघि बढेको गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ(छिन्ताङ) ले बताउनुभयो ।
उहाँका अनुसार उक्त कोठे दायाँगाउँ बृहत खानेपानी आयोजनाको हालै पुर्व उर्जा राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ (लालध्वज) ले शिलान्यास गर्नुभयो ।
आयोजनाको शिलान्यास गर्दै दोङले खानीखोलाका जनताका खानेपानी,सडक लगायत विकास निर्माणका हरेक समस्या साधानमा आफू साथमा रहने बताउनुभयो ।
उहाँले कोठे दायाँगाउँ बृहत् खानेपानी आयोजना महत्वर्ण आयोजना भएकोले निर्माण कम्पनीले काममा कुनै हेलचेक्रइ र ढिलासुस्ती नगरी समयमै पारदर्शी ढंगले काम सम्पन्न गर्न आग्रह गर्नु भयो ।
यसरी स्थानीय सरकार प्रदेश र संघ सरकारसँग सहकार्य गरी अघि बढेमा जनताका साना ठूला आवश्यकताको सम्बोधन गर्न सहज हुने पालिका अध्यक्ष छिन्ताङको भनाई छ ।
‘चुनावमा गरिएको खानीखोला गाउँपालिकामा एक घर एक धारा भन्ने प्रतिवद्धता अनुरुप आयोजना अघि बढेको छ। आयोजना पुरा गरेपछि खानेपानीले समस्या समाधान हुनेछ’ अध्यक्ष छिन्ताङले भन्नुभयो, ‘निर्माण कम्पनीले समयमानै काम सक्ने छ भन्ने विश्वास लिएका छौँ।’
२०८२ असार १५ गतेमा सम्पन्न गर्ने गरी उक्त आयोजनाको ठेक्का बिजय स्ट्रक्चर प्रा.लि.ले पाएको छ।
बेलैमा सम्पन्न गर्नेगरी आयोजनाको कामले तिव्रता पाउने ठेकेदार कम्पनीका बिजय लामाले प्रतिबद्दता जनाउनुभयो ।
पानीका पुराना मुहान सुक्दै गएपछि खानेपानीको अभाव भोगिरहेका बासिन्दाहरु आयोजना बन्ने भएपछि खुसी देखिएका छन्। आयोजनाबाट १ सय ६८ घरधुरी प्रत्यक्ष लाभान्वित हुने बताईएको छ ।