काठमाडौं–विक्रम संवत्को नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल केन्द्रीय समितिको आयोजनामा यहि चैत ३० गते ‘शुभकामना सांस्कृतिक साँझ–२०८०’ आयोजना हुने भएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने गरी आयोजना गर्ने कार्यक्रमको तयारी तिब्र पारिएको महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले बताउनुभयो ।

महासंघको इतिहासमा आठ वर्षपछि यसप्रकारको बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुन लागेको अधिकारीको दावी छ । गीतकार तथा गायकसमेत रहेका अध्यक्ष अधिकारीले भन्नुभयो– “नेपाली मौलिक संस्कृति तथा जनवादी गीत–सङ्गीतको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागेका हौं ।”

अध्यक्ष अधिकारीका अनुसार रामप्रसाद अवस्थीको संयोजकत्व तथा पदम रोकायको व्यवस्थापनमा हुने कार्यक्रममा अग्रज तथा समकालीन पुस्ताका ख्याति प्राप्त जनकलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ ।

महासंघका कार्यबाहक महासचिव सङ्गीतकार अशोक राईले पुराना जनगीत–सङ्गीतका साथमा मौलिक नेपाली संस्कार, संस्कृति र प्रकृति झल्किने हिमाल, पहाड र तराईमधेशमा प्रचलित सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति हुने जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !