
काठमाडौं–विश्व मानव समुदाय लगायत सम्पूर्ण प्राणी जगतको कल्याण,शान्ति र समृद्धिको उद्धेश्यसाथ नेपालमा प्रथम अन्तर्राष्ट्रिय ङ्युङ्ने बौद्ध समारोह हुने भएको छ ।
बुद्धिष्ट टिचिङ एण्ड मेडिटेशन सेन्टर र धर्म टेलिभिजनको संयुक्त आयोजनामा यहि आउने वैशाख २६ देखि जेठ १४ गतेसम्म टुडिखेल मैदानमा यो समारोह हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।
समारोहमा १६ दिने कर्पो छ्यागे ङ्युङ्ने,१ दिने विश्व शान्ति महायज्ञ शिवेअी ङ्यिन्सेग र महाकरुणामीको अभिषेक साथै ३ दिने इन्टरनेशनल धर्म आइडल बद्धिष्ट कन्फ्रेन्स हुने कार्यक्रम संयोजक खेन रिन्पोछे सोनाम ग्युर्मेले बताउनुभयो ।
‘७ हजार नेपाली,२ हजार भारतीय र १ हजार जना विभिन्न देशबाट उपासक उपासिकाहरुको साथै ५ सय जना स्वयंसेवक सहित सहभागि हुने लक्ष्यका साथ बृहत बौद्ध समारोह आयोजना गर्न लागेको जानकारी गराउँदछौं ।’–प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस अघि विधिवत रुपमा सेन्टरको कार्यालयमा चलाएको छलफल र होटल मण्डलामा गरिएको घोषणा अनुसार नै समारोह गर्न लागिएको स्पष्ट पारिएको छ । धर्म आदर्श अभियानको रुपमा गर्न लागेको समारोहमा सहभागी हुन २०२३ नोभेम्बर अन्तिमसम्म नाम दर्ताको आह्वान गरिएको थियो ।
यो कार्यक्रमको तयारी अन्र्तगत छलफल,निमन्त्रणा लगायत अन्य प्राविधिक व्यवस्थापनका कार्यहरु भईहरहेको जनाईएको छ ।
यस अन्र्तगत आउने बिहीबार अपराह्न संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा विभिन्न देशका राजदुत,धर्मगुरु,विशिष्ट व्यक्तित्वहरुबीच साक्षात्कार कार्यक्रम तय गरिएको ग्युर्मेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम पनि गरिनेछ ।
विज्ञप्तिसहित :