
खानीखोला–काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं.४ मा रहेको स्थानीय दुई वटा विद्यालय र एउटा कृषक समूहको भवन एकै दिन उद्घाटन गरिएको छ ।
वीर आधारभूत विद्यालय र ज्ञानज्योति आधारभूत विद्यालयको २ कोठे आरसीसी भवन र प्रगतीशील कृषक महिला समुहको भवन सोमबार भव्य समारोहका बीच एकैपटक बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री मोक्तानले खानीखोला गाउँपालिकामा मावि तहको शिक्षा मात्र नभई क्याम्पस तहको पढाई पनि सुचारु गर्नुपर्ने अवस्था आफूले बोध गरेको बताउनुभयो । त्यसका लागि उहाँले क्याम्पस स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त जनाउनुभयो ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले खानीखोला गाउँपालिकाले शैक्षिक क्षेत्रमा फड्को मार्न आवश्यक रहेको उल्लेख गर्दै यसमा स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारबीच सहकार्य बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष निशान मोक्तान, खानीखोला गाउँपालिका शिक्षा शाखाका होमबहादुर वाईबासँगै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि आफ्नो धारणा राख्नुभयो ।
यहाँको वीर र ज्ञानज्योतिको भवन बागमती प्रदेशको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो भने प्रगतीशील कृषक महिला समुहको भवन भने खानीखोला गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको वडा अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।