बनेपा –नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी काभ्रे जिल्ला अधिवेशन यहि चैत ३ र ४ गते बनेपामा हुने भएको छ । “समृद्ध काभ्रे निर्माण हाम्रो अभियान, सुदृढ कम्युनिष्ट आन्दोलनका लागि दशौं जिल्ला अधिवेशन” भन्ने मूल नाराका साथ हुन लागेको जिल्ला अधिवेशनको तयारी लगभग पूरा भएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको हो ।
जिल्लाभरका पार्टी सदस्य,शुभेच्छुक,नेताहरु बनेपामा भेला भई र्यालीसहित अरनिको सभा भवनमा पुगेर अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने तय भएको जिल्ला इन्चार्ज टोक बहादुर वाइबाले जानकारी दिनुभयो ।
नेकपा एमालेबाट विद्रोह पश्चात गरिएका पार्टी कामको समीक्षाका साथै पार्टीमा देखिएका समस्याको समाधान पहिल्याउन,वर्तमान राजनीतिक परिस्थितिको ठोस विश्लेषणको आधारमा आगामी कार्ययोजना तय गर्न,पार्टीलाई जिल्लाको नेतृत्वदायी कम्युनिष्ट पार्टी बनाउन यो अधिवेशन सार्थक रहने विश्वास पार्टीले लिएको उहाँले बताउनुभयो ।
तत्कालिन समय नेकपा एमाले काभ्रेको नवौं जिल्ला अधिवेशनमार्फत जिल्ला कमिटिको अध्यक्ष टोक बहादुर वाइबा भएको बखत पार्टीमा विद्रोह गरेर बनेको समाजवादीको जिल्ला अध्यक्षको नेतृत्व वाइबालेनै गरेको उल्लेख गर्दै अधिवेशन आयोजक कमिटिका संयोजक बसुन्धरा हुमागाईंले त्यसैमा टेकेर १० औ जिल्ला अधिवेशन गर्न लागेको तर्क गर्नुभयो ।
‘नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी विचलन विरुद्ध हामीले विद्रोह गरेर पार्टी पुनर्गठन गरेको अढाई वर्ष पूरा भएको छ । यस अवधिमा हामीले विभिन्न आरोह र अवरोहहरु पार गर्दै आज हामी पार्टीको दशौं जिल्ला अधिवेशनको संघारमा उभिएका छौं ।’ – प्रेस विज्ञप्तिमा उल्लेख छ । 
यो जिल्ला अधिवेशनपछि पार्टी काभ्रे जिल्लाका सबै गाउँपालिका तथा नगरपालिका र सबै वडाहरुमा पार्टी संगठन सुदृढीकरण तथा सदस्यता विस्तार जस्ता अभियानहरु लिएर जनताको बीचमा पुग्ने जनाईएको छ ।  यो अधिवेशनसम्म आईपुग्दाका साढे दुई वर्षमा ३९६६ संगठित पार्टी सदस्यहरु विस्तार भएर पार्टीमा गोलवद्ध भएको हुमागाईंले जानकारी दिनुभयो ।
अधिवेशनमा जिल्लाका १३ वटै स्थानीय तह,१३५ वटा वडामध्ये संगठन बिस्तार भएको १ सय १७ वडा,पार्टीको भातृ संगठनको रुपमा जिल्लामा २२ वटा जनवर्गीय संगठनहरुबाट संगठित पार्टी सदस्य संख्याको अनुपातमा ४ सय ७६ जना प्रतिनिधीहरु निर्वाचित भइ जिल्ला अधिवेशनमा सहभागी हुने जनाईएको छ ।
यस अधिवेशनबाट निर्माण हुने जिल्ला कमिटीमा ४० वर्षमुनि उमेर समूहका कम्तीमा २० प्रतिशत,कम्तिमा ३३ प्रतिशत महिला,उत्पीडित दलित समुदाय, अल्पसंख्यक तथा अति सीमान्तकृत समुदाय र अपांगता भएका व्यक्तिको समेत अव बन्ने जिल्ला कमिटीमा प्रतिनिधित्व सुनिश्चित गरिएको बताईएको छ ।
भद्दा र बैठक नै बस्न नसक्ने गरी ठूलो संख्यामा सदस्यहरु रहेको कमिटी बनाउने, बैठक बसे पनि छलफल चलाउन नसकिने र बैठक नै भेला वा आमसभाजस्तो हुने गरी कमिटी सञ्चालन हुने प्रणालीको अन्त्य गरी कामयावी कमिटीहरु बनाउने तर्फ यो जिल्ला अधिवेशन अग्रसर हुने जनाउँदै समाजवादीले अब बन्ने जिल्ला कमिटी ५५ देखि ६१ सदस्यीय हुने स्पष्ट पारिएको छ ।
अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्दै अधिवेशन आयोजक कमिटिका संयोजक हुमागाईंले त्यसो नभए लोकतान्त्रिक प्रक्रियाअनुसार नेतृत्व चयन गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !