काभ्रेपलाञ्चोक–आफ्नो सातौं स्थापना दिवसको अवसरमा मण्डनदेउपुर नगरपालिकाको प्रशासकीय भवनको आईतबार बृहत समारोहका बीच उद्घाटन गरिएको छ ।

वडा नम्बर ७ मनमती डाँडामा निर्मित कम्पाउण्डभित्रै हेलिप्याड,विद्युतिय लिफ्ट सहितको अत्याधुनिक सुविधा सम्पन्न भवनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यको पुर्नसंरचनाको क्रममा स्थानीय तहको गठन भई संघीयता कार्यान्वयन भएको योे अवधिसम्म पनि देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेकाबेला यस नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी जनतालाई दिने सेवासुविधालाई सहज एवं प्रभावकारी बनाउन आवश्यक सुविधा सम्पन्न प्रशासकीय भवन बनाएको भन्दै नगरप्रमुखसहितका जनप्रतिनिधि र नगरवासीलाई बधाई दिनुभयो ।

उहाँले यस नगरपालिका “देउपुर र मण्डन, कृषि र पर्यटन” को अवधारणा लिएर दीर्घकालीन लक्ष्यसहित अघि बढेकोमा खुशी लागेको बताउनुभयो । यसैबाट नगर र नगरवासीको आर्थिक विकासको ढोका खोल्ने उहाँको विश्वास छ ।

समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र पूर्व मन्त्री तथा काभ्रे क्षेत्र नं. २ बाट संघीय सांसद गोकुल बांस्कोटाले पनि मण्डनदेउपुर नगरलाई बधाई ज्ञापन गर्दै यहाँको विकासमा आफूहरु साथमा रहेको बताउनुभयो ।

कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले मण्डन देउपुर नगरपालिकाको परिचय,अहिलेसम्मको उपलब्धी र सम्भावनाका विषयमा प्रकाश पार्नुभएको थियो भने उपप्रमुख विष्णुमणी नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

स्थानीय नागरिकका लागि भावि दिनमा नागरिकता प्रमाणपत्रसहितको सेवा दिनेगरी यो ६२ कोठा भएको भवन निर्माण गरिएको नगर प्रमुख वाईबाले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो,–‘करीव ३० हजार नागरिक रहेको हाम्रो नगरबासीलाई आकश्मिक उपचार,उद्धारका लागि समेत सहज हुने गरी हेलिप्याड सहितको अवधारणा आएको हो ।’

कुल २५ रोपणी क्षेत्रफलमा निर्माण भएको नवनिर्मित प्रशासनिक भवनमा दुई वटा हल,प्रत्येक फ्लोरमा अपांगता मैत्री शौचालय,महिला र पुरुष शौचालय निर्माण गरिएको छ भने लिफ्ट पनि जडान गरिएको छ । कम्पाउण्डभित्रै हेलिप्याड समेत निर्माण गरिएको छ ।

पछि थपिएको संरचना सहित विकोई जयमाता जेभी निर्माण कम्पनीले करीब १६ करोड १९ लाख ७८ हजारमा संरचना निर्माण गरेको प्रमुख वाईबाले जानकारी दिनुभयो ।

समारोहकै बीच मण्डन देउुपुरका पूर्व उपप्रमुख निर्मला शाही लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल,संघीय सांसद मिना लामा,निमा लामा,बागमती प्रदेश निवर्तमान खानेपानी,उर्जा तथा सिञ्चाईं मन्त्री तिर्थ लामा,प्रदेश सांसद ज्ञान बहादुर तामाङ,कञ्चनचन्द्र बादे,पूर्व कृषि तथा सहकारी मन्त्री बसुन्धरा हुमागाईं,जिल्ला समन्वय समितिका प्रमुख दिप गौतम,उपप्रमुख रिम बहादुर तामाङ,इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल,काभ्रे र छिमेकी सिन्धुपाल्चोकका स्थानीय पालिकाहरुका प्रतिनिधिहरु अतिथिको रुपमा सहभागि हुनुभएको थियो ।

नगरको भवन निर्माण भएको खुसीयालीमा नगरवासीहरु बाजागाजा,सांस्कृतिक झाँकी सहित कार्यक्रम स्थलमा आएका थिए ।

कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरुको नृत्य तथा कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।

यसरी नगरका जनप्रतिनिधि,कर्मचारीका साथै हजारौं नगरवासीको सहभागितामा,नाचगान,शुभकामना आदानप्रदान,सम्मान कार्यक्रमका साथ स्थापना दिवस मनाउनुका साथै भवन उद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो ।

फोटो : देवराज केसी,जीवन तामाङ,जगत तामाङ तथा उपप्रमुखको सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस !