काभ्रेपलाञ्चोक–राष्ट्रपति रामचन्द्र पौडेल आज मण्डनदेउपुरमा आउनु हुने भएको छ । मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवनको उद्घाटनका लागि पौडेल यहाँ आउन लाग्नुभएको हो ।

विहान ११ बजेपछि हेलिमार्फत आउनुहुने उहाँले भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुने नगरप्रमुख टोक बहादुर वाईबाले जानकारी दिनुभयो ।

नगरपालिकाको सेवा प्रवाहका लागि बनाईएको हेलिप्याडसहितको सुविधासम्पन्न पक्की भवनको उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल,पूर्व मन्त्री तथा काभ्रे क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य गोकुल बांस्कोटा,बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल लगायतका अतिथिहरुको समेत उपस्थिति रहने वाईबाले जनाउनुभयो ।

स्थानीय नागरिकका लागि भावि दिनमा प्रशासनिक सेवा अन्र्तगत नागरिकता प्रमाणपत्रसहितको सेवा दिनेगरी यो भवन निर्माण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,–‘करीव ३२ हजार नागरिक रहेको हाम्रो नगरबासीलाई आकश्मिक उपचार,उद्धारका लागि समेत सहज हुने गरी हेलिप्याड सहितको अवधारणा आएको हो ।’

वडा नं. ७ मनमती डाँडामा कुल २५ रोपणी क्षेत्रफलमा निर्माण भएको नवनिर्मित प्रशासनिक भवनमा ६२ वटा साना ठूला कोठा छन् । दुई वटा हल,प्रत्येक फ्लोरमा अपांगता मैत्री शौचालय,महिला र पुरुष शौचालय निर्माण गरिएको छ भने लिफ्ट पनि जडान गरिएको छ ।

विकोई जयमाता जेभी निर्माण कम्पनीले १४ करोड २२ लाख ९४ हजारमा ठेक्का कबोल गरी अहिलेको संरचना निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस !