कास्की–नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर समितिले मञ्जुश्री सम्वत् २८६० सोनाम ल्होछार अन्तर्गत डुक ल्हो सुरु भएको अवसरमा सोमबार शुभकामना आदान प्रदान,मिस तामाङ पोखरा–२०२४ सम्मान एवं उद्घोषण कला तालिम समापन समारोह भव्य रुपमा आयोजना गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य माननीय पार्वती थिङ तामाङले कुङामा दीप प्रज्वलन समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधनको क्रममा उहाँले तामाङ जाती धर्म वा राजनीतिका नाममा विखण्डित हुन नहुने बताउनुभयो । बरु आफ्नो पहिचान र अस्तित्व रक्षाका निम्ति संगठित भई अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो ।

महिला घेदुङ पोखरा महानगर समितिले महिलाहरुको व्यक्तित्व विकास एवं सशक्तिकरणका लागि उद्घोषण तालिम गरेकोमा खुशी व्यक्त गर्दै उहाँले महिलाको अधिकारको वकालतमा आफू सदैव उभिने प्रतिवद्धता जनाउनुभयो । यसमा महिलाहरु पनि आफ्नो ठाउँबाट उठ्न आवश्यक रहेको उल्लेख गर्दै गण्डकी प्रदेश सभाका सदस्य रहनुभएका तामाङले कर्तव्यबाट भने कोही पनि पन्छिन नहुने धारणा राख्नुभयो ।

कार्यक्रमकै बीच मिस तामाङ पोखरा–२०२४ का विजेता रोशिला ब्लोन तामाङ,फस्ट रनर अप मोनिका पाख्रीन तामाङ, सेकेण्ड रनर अप वर्षा गोले तामाङ र भ्युअर्स च्वाइस् टाइटलं विजेता अर्पणा डुम्जन तामाङलाई खदा र मायाको चिनोद्वारा बधाई ज्ञापन एवं सम्मान गरिएको थियो ।

सोही अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा सञ्चालित उद्घोषण कला तालिम पनि समापन गरिएको थियो । उद्घोषण कार्यक्रमको दोस्रो कक्षालाई गोर्खाली एफएमका स्टेशन म्यनेजर तथा फोनिज गण्डकीका उपाध्यक्ष खिमा गुरुङले सहजिकरण गर्नुभएको थियो ।

तामाङ घेदुङका विभिन्न इकाई समितिबाट महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको तालिममा सहभागीहरुले बोल्ने कलाको सिप,संस्था संचालनका ज्ञान तथा पदीय जिम्मेवारीका बारेमा सिक्न पाउँदा खुशी व्यक्त गरे ।

नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका कोषाध्यक्ष जसपाल पाख्रीन तामाङले तामाङ समुदायको इतिहास बोकेको कथावस्तुमा आधारित चर्चित कलाकार बुद्धि तामाङ र सोनाम लामाले निर्देशन गरेको नाटक ‘मासिन्या’ यही आउँदो चैत्र महिनाभित्रमा पोखरा मञ्चनमा तयारी भईरहेको जानकारी पनि गराउनुभएको थियो ।

संस्थाका अध्यक्ष पवित्रा थोकर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका महिला उपाध्यक्ष ऋतु थोकर तामाङ,नेपाल आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् कास्कीका उपाध्यक्ष मिनमाया डुम्जन तामाङ, पोखरा महानगरपालिका वडा नं.१३ का महिला सदस्य सुचिता स्याङ्बो तामाङ, नेवा मिस पुच कास्कीका अध्यक्ष संगिता बज्रचार्य, मिस तामाङ पोखरा – २०२४ का विजेता रोशिला ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका कोषाध्यक्ष जसपाल पाख्रीन तामाङले शुभकामना मन्तव्यका साथ तामाङ एकता,संस्कृति प्रवद्र्धन,महिला विकासका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष सिता तामाङले स्वागत गर्नुभएको कार्यक्रमको सहजिकरण सचिव लक्ष्मी ब्लोन तामाङले गर्नुभएको थियो ।

तस्बिर: तामाङ दिमOctober AG

प्रतिक्रिया दिनुहोस !