काठमाडौं–सामुदायिक रेडियो अभियन्ता भक्त स्याङतान कथा संग्रह ‘डम्फुको आत्मालाप’ लिएर पाठकमाझ प्रस्तुत हुनुभएको छ ।
रेडियो नमोबुद्ध धेलिखेलका अध्यक्ष एवं सामुदायिक रेडियो प्रसारक संघ(अकोराव) का संघीय सदस्य स्याङतान कथाकारको नयाँ परिचयसाथ आउनुभएको हो ।
उहाँको पहिलो कृति ‘डम्फुको आत्मालाप’ को शुक्रबार राजधानीमा एक सामारोहका बीच संस्कृतिविद् एवं प्राध्यापक अरुण गुप्तो,उपप्राध्यापक एवं निबन्धकार कुमारी लामा, कथाकार,साहित्यकार,निर्देशक एवं नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल,लेखक स्वयं स्याङतानले संयुक्तरुपमा लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा पुस्तकमाथि टिप्पणी राख्नुहुदै प्राध्यापक गुप्तोले ‘डम्फुको आत्मालाप’ ले तामाङ समुदायको सांस्कृतिक रहस्यहरुलाई बाहिर ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यो कथाहरु एक प्रकारको अभिलेख हो,यहाँ चित्रलिपीहरु कथाको रुपमा आएको छ ।’
‘देशवस्तुमा रिसर्च गर्ने खालको धेरै रुपक लिपीहरु छन्,शब्द मात्रै हैन,एक किसिमको सांकेतिक लिपीहरु धेरै छन्,त्यसको कलेक्सनबाट नै धेरै कुरा भन्न सकिन्छ,अरु न्यारेटिभ छँदैछ,आफ्नो दुख,सुखको कथा छँदैछ तर यो जुन लिपीहरु छन्,यसमा पाएको पिक्टोग्राप्सहरुबाट मैले धेरै आनन्द पाएको छु ।’–गुप्तोले थप्नुभयो ।
निबन्धकार लामाले ‘डम्फुको आत्मालाप’ सशक्त,बलशाली कृतिको रुपमा आएको बताउनुभयो । उहाँले भन्नुभयो–‘जहाँ जराको खोजि भएको छ,निश्चित रुपमा यो पहिचानकै वकालतको कुरा भयो,उहाँको कथामा असाध्यै शालिन भाषामा,नचिच्याइकन,नकराइकन गरिएका दावीहरु छन् । तामाङ संस्कृतिसंग सम्बन्धित विम्वहरुलाई जिवन्त रुपमा,छरितो रुपमा,मिथकसंग जोडेर,तामाङ जिवनशैलीसंग जोडेर प्रस्तुत गरिएको छ ।’
प्रतिनिधित्व र सहि रुपमा आफ्ना कुरा बाहिर ल्याउन सक्नु महत्वपूर्ण विषय हो भन्दै उहाँले भन्नुभयो–‘डम्फुको आवाज ज्ञानको स्रोत हो,एस्थेटिक हो,हाम्रो सोन्दर्यशास्त्र हो,त्यसैलाई शिर्षक बनाएर लेख्नु भनेको,डम्फुलाई बोल्न लगाउनु भनेको मेरो अनुहार यो हो भनेर शालिनतापूर्वक दावी गर्नु हो ।’
कथाकार,साहित्यकार एवं नेपाल टेलिभिजनका महाप्रबन्धक वलले तामाङ समुदायलाई दिशावोध गराउने कार्य ‘डम्फुको आत्मालाप’ ले गरेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘तामाङ समुदाय हिजो जसरी दिशाविहीनताको अवस्थामा थियो,राजनीतिक,वैचारिक जस्ता विषयमा प्रष्टताको अभाव थियो,आज भक्त स्याङतानले ‘डम्फुको आत्मालाप’ मार्फत स्पष्ट रुपमा भन्नुभएको छ ।’
उहाँले राज्यबाटै दबाइएको तामाङ जातिको इतिहासदेखि वर्तमान अवस्थालाई समेटेर लेखकले पुस्तक प्रकाशनमा ल्याएको भन्दै प्रशंसा गर्नुभयो ।
आज संस्कृतिलाई बजारले खाइरहेको उल्लेख गर्दै वलले थप्नुभयो–‘बजार भनेको उपभोक्तावाद हो,नवउदारवाद । आर्थिक,राजनीतिक सत्ता उसैले कब्जा गरेको छ,हुंदा–हुंदा ज्ञानको सत्ता पनि उसैले कब्जा गर्दै लगिरहेको छ,यहि बेला डम्फुले आज पिडा बोल्छ,डम्फु हामी एन्टि बजारमा बेचिरहेका छौं,छोरोले क्याण्डिक्रस खेलिराछ,यो सन्दर्भमा यसलाई अत्यन्त गहकिलो ढंगबाट,डम्फुलाई क्यारेक्टर बनाएर भक्त स्याङतानले कथा भन्नुभएको छ,तामाङ पहिचान र भविश्यको बाटो स्पष्ट पार्नुभएको छ ।’
कथाले पाठकलाई निरन्तर डोहोर्याउने धारणा राख्दै उहाँले भन्नुभयो–‘थ्रिएक्ट संरचना,द्धन्दहरुको निर्माण,क्यारक्टराइजेशन त्यसैगरी छ,कौतुहलता त्यसैगरी छ,क्लाइमेक्स त्यसैगरी छ,त्यसैले यो कथासंग्रहका कथाहरु पढ्दा कतै पनि दिक्क लाग्ने ठाउँ छैन ।’
यस खालको कृतिले नेपालको सांस्कृतिक राष्ट्रियता बलियो बनाउनुका साथै नेपाली साहित्यलाई पनि समृद्ध बनाउन भुमिका खेल्ने वलको धारणा छ ।लेखक स्याङतानले ‘डम्फुको आत्मालाप’ मार्फत आफैंले भोगेको,देखेको वर्ग,समुदायको आवाज उठाउने प्रयास गरेको बताउनुभयो ।
आफ्नो गाउँ,परिवेश,अवस्था नै आफ्नो लेखनको उर्जा रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो–‘म कामको सिलसिलामा देशविदेश पुग्छु तर मैले देख्ने सपनाहरुमा म हुर्केको ठाउँ पुगेको हुन्छु,सपनाले मलाई संधै आफ्नै गाउँ पुरयाउँछ,ति चिजहरुले साँच्चिकै लेख्न प्रेरणा दिदोरहेछ,ति पाटोहरु नै मेरो लेखनको शक्ति जस्तो लाग्छ ।’
सांग्रिला बुक्सले प्रकाशन गरेको कथा संग्रह ‘डम्फुको आत्मालाप’ मा लुङ्दर,छ्योर्तेन,न्होरला,छेदिङमो,जलजला,म्लाङगैको आपा,पेम्बाको कथा,दलुचा,याम्बुमा लाक्पाको सङ्घर्ष,बुट्टे गलबन्दी कथा पनि समावेश छन् ।
टाइम्स क्रिएसनको आवरण डिजाइन रहेको २२३ पृष्ठको कथासंग्रह “डम्फुको आत्मालाप” वितरणको जिम्मा भने सम्पूर्ण किताबले लिएका छन् ।
फोटो : इकमान लामा