सांसद एवं पूर्वमन्त्री लालध्वजको सम्बोधन : सहकार्यबाट नै सबै सम्भव छ
तेमाल–काभ्रेको तेमाल गाउँपालिकाले बिहीबार आफ्नो गाउँसभाको १३ औं गाउँ अधिवेशनमार्फत ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद एवं पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ(लालध्वज)को प्रमुख आतिथ्यतामा भएको औपचारीक कार्यक्रमपछिको बन्दसत्रमा पालिका उपाध्यक्ष दलमान थोकर(डिएम)ले आर्थिक वर्ष २०८०/०८१ का लागि यो बजेट सभामा प्रस्तुत गर्नुभएको हो ।
संघीय सरकार सशर्त अनुदान २१ करोड ७१ लाख,प्रदेश सरकार सशर्त अनुदान २ करोड २१ लाख ८६ हजार,संघीय सरकार समानिकरण अनुदान ९ करोड ४ लाख,प्रदेश सरकार समानिकरण अनुदान ८६ लाख ६४ हजार हुने बजेट वक्तव्यमा उल्लेख छ ।
त्यस्तै संघीय सरकार राजश्व बाँडफाँटबाट प्राप्त रकम ८ करोड ११ लाख ७६ हजार,प्रदेश सरकारको राजश्व बाँटफाँटबाट २ करोड १८ लाख ६४ हजार ६५२,संघीय सरकार समपूरक अनुदान ८० लाख,प्रदेश सरकार समपूरक अनुदान २ करोड ५० लाख,संघीय सरकार विशेष अनुदान ५० लाख,प्रदेश सरकार विशेष अनुदान १ करोड र आन्तरिक आय २ करोड हुने जनाएको छ ।
गाउँपालिकाले चालु खर्च तर्फ ७ करोड १३ लाख ४ हजार ६५२ विनियोजन गरेको छ । सामाजिक विकासतर्फ शिक्षा,स्वास्थ्य,विपद् व्यवस्थापन,प्रकोप कोष,लैंगिक समानता तथा समावेशीकरण क्षेत्र,पूर्वाधार विकासमा रणनीतिक सडक,केहि वडा कार्यालय निर्माणका साथै जेसिबि खरिदका लागि समेत बजेट विनियोजन गरेको उल्लेख छ । आर्थिक विकासमा कृषिलाई पनि जोड दिएको छ ।
सभामा बजेट प्रस्तुतीकरण तथा अनुमोदन भएलगत्तै संक्षिप्त प्रतिक्रिया जनाउँदै उपाध्यक्ष थोकरले यो बजेटको कार्यन्वयन पाटो समेत सफल हुने बताउनुभयो ।
यो पटकको नीति तथा बजेट केहि रुपमा गत आर्थिक वर्षकै निरन्तरता भएको उल्लेख गर्दै उहाँले यो पटक सांस्कृतिक पर्यटनको अवधारणा अनुसारका योजनाहरुमा पनि महत्वका साथ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,–‘यो बजेटको सकारात्मक पक्ष भनेको २०७९/०८० मा रणनीतिक सडक भनेर वडा कार्यालयदेखि गाउँपालिका कार्यालयसम्म जोड्ने रणनीतिक सडकहरुलाई पुनः निरन्तरता दिएका छौं । कुनै समपूरकमा राखेका छौं भने कुनै ५० लाखको प्याकेजमा छ,हाइपटेन्सनलाई फोकस गरेर स्वास्थ्यमा १ करोड छुट्टाएका छौं,नसर्ने रोगसंग सम्बन्धित १८ दिनको अभियान पहिला सञ्चालन गर्दाको अनुभवले यो आवश्यक देखायो,सबैलाई परीक्षणको दायरामा ल्याउनेगरी सञ्चालन गर्ने सोच हो ।’
उपाध्यक्ष थोकरले तेमाल तामाङहरुको उद्गम थलो भएको कारण त्यसलाई पनि समेटेर सांस्कृतिक तथा धार्मिक पर्यटन विकासलाई समेत मध्यनजर राख्दै बजेट बनाएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,–‘यहाँ तोङसोमकुण्ड,गेलुङ पहरा,गुरु स्ह्याब्चेलिङ,स्वयम्भूबौद्ध,यारीनाग,दोर्जेगाङ लागयतको सांस्कृतिक तथा धार्मिक स्थालको प्रचार एवं प्रवद्र्धनका लागि गुरु योजनासाथ कार्यक्रम गर्न बजेटद्धारा सम्बोधन गरेका छौं ।’
उहाँले गाउँपालिका जोड्ने रणनीतिक सडकहरु निर्माणका क्रममा केहि प्राविधिक चुनौतीहरु देखिएको बताउनुभयो । सडकहरुको मापदण्ड कम्तीमा ६ मिटरको हुनुपर्छ,७ मिटरको हुनुपर्छ भन्दा कतै ५ मिटर,४ मिटर भएको उल्लेख गर्दै उपाध्यक्ष थोकरले त्यसलाई सच्चाएर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
पूर्वमन्त्री लालध्वजको सम्बोधन : सहकार्यबाट नै सबै सम्भव छ
तेमाल गाउँपालिकाको बिहीबारको बजेट अधिवेशनको पहिलो औपचारीक सत्रलाई प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद एवं पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ(लालध्वज)ले सम्बोधन गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि दोङले तेमाल समृद्धिको दिशातर्फ अघि बढेको बताउनुभयो । तेमालको विकराल खानेपानी समस्या अब समाधान भएको उल्लेख गर्दै उहाँले भकुण्डे–मेच्छे मुख्य सडक क्रमागत योजना अनुसार अघि बढेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,–‘यो योजना क्रमागत योजनाअनुसार अघि बढेको छ,काममा केहि ढिलाई भइरहेको प्रति बारम्बार मैले सहजिकरण गर्दै आएको छु,तेमालका अन्य सडकहरुमा पनि संघ सरकारको सहयोग छ र हुनेछ ।’
तेमालमा सबै घरमा विजुली पुराउने जस्ता कार्यहरु समेत सबै मिलेर सम्भव भएको धारणा राख्दै उहाँले सहकार्यबाट सबै सम्भव रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,–‘सस्र्यूंखर्कको पूर्व गाविस अध्यक्ष संग्राम तामाङ,चापाखोरीका संग्रामजीत लामा,ठूलो पर्सेलका सलाम सिं तामाङ,सार्कीमान तामाङ हामी संगै बसेर छलफल गरेर योजना बनाएर तेमाल उज्यालो बनाउने अभियान शुरु गरेका थियौं,आज सबैको घरमा उज्यालो विजुली छ,सबै मिले त सबै चिज सम्भव छ नि ।’
सांसद दोङले सुनकोशी तेस्रो जलविद्युत बन्ने पक्का भएको पनि बताउनुभयो । ‘भारतसंग एक खालको सहमति भएको छ,यदि भारतले चासो दिएन भने बंगलादेश सकारात्मक छ,हामी तेमाल बासीको शेयरसहित सबै मिलेर बनाएपछि यो क्षेत्रले ठूलो फड्को मार्छ ।’–उहाँले थप्नुभयो ।
सांसद दोङले तेमालमा अलपत्र परेको भ्यु टावर,बन्दै गरेको तामाङ संग्रहालय,अघि सार्दै गरेको अन्तराष्ट्रिय तामाङ सांस्कृतिक केन्द्र निर्माणमा संघ सरकारबाट सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
युवा नेतृत्व गतिशील,जुझारु,सशक्त एवं सिर्जनशील हुने बताउंदै उहाँले तेमाल गाउँपालिकाको अहिलेको युवाहरुको नेतृत्व यहाँको आवश्यकतालाई सम्बोधन गर्दै अघि बढ्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । यसमा आफ्नो सदैव साथ रहने उहाँको भनाई छ ।
कार्यक्रममा पालिका अध्यक्ष चन्द्र बहादुर तामाङले संघ सरकार,प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वयकारी भुमिका रहनुपर्ने बताउनुभयो ।
उपाध्यक्ष दलमान थोकर(डिएम)ले तेमाल समृद्धिको भिजन भएका,यहाँका हावापानीसँगै हुर्केका व्यक्ति(सांसद सूर्यमान दोङ) प्रतिनिधिसभा एवं संघ सरकारको प्रतिनिधिको रुपमा रहेको भन्दै तेमालको विकास निर्माणले थप गति पाउने विश्वास व्यक्त गर्नुभयो ।
औपचारीक कार्यक्रमपछिको बन्दसत्रमा उपाध्यक्ष थोकरद्धारा ५० करोड ९३ लाख ९० हजार ६५२ रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । बजेट गाउँ अधिवेशन एवं सभाद्धारा बिहीबार नै पारित भएको सभाका सदस्य सचिव समेत रहेका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले जानकारी दिनुभयो ।
सभामा पालिकाका प्रवक्ता एव. वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने वडा नं. ९ का वडा अध्यक्ष चन्द्र दोङ(काजी)ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अध्यक्ष चन्द्र बहादुर तामाङको अध्यक्षतामा भएको सभामा वडा नं. १ का वडा अध्यक्ष इन्द्र अधिकारी, वडा नं. २ का वडा अध्यक्ष देव तामाङ,वडा नं. ३ का वडा अध्यक्ष विष्णु बहादुर तामाङ,वडा नं. ४ का वडा अध्यक्ष पेम्बा तामाङ,वडा नं. ५ का वडा अध्यक्ष हजार सिं तामाङ,वडा नं. ६ का वडा अध्यक्ष प्रेम तामाङ,वडा नं. ७ का वडा अध्यक्ष एवं पालिका प्रवक्ता इन्द्रलाल तामाङ,वडा नं. ८ का वडा अध्यक्ष तेमाल सिं तामाङ,वडा नं. ९ का वडा अध्यक्ष चन्द्र दोङ लगायत विभिन्न विभागका प्रमुख,कार्यपालिका सदस्य,गाउँसभा सदस्य,पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बजेटका प्राथकिमता/पूर्णपाठ यस्तो छ :