भकुण्डेवेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रमका साथै अनुमानित बजेट आइतबार नगरसभामा प्रस्तुत गरेको छ ।

दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विनियोजन विधेयक,आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको छ ।

आइतबार बसेको बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

नगर उपप्रमुख रत्नबहादुर लामाले आर्थिक बर्ष २०८०/८१ को लागि बजेट ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

नगरले आगामी आर्थिक बर्षको लागि चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १ सय ९७ र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६ सय ३० रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

बैठकमा सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक बर्ष २०८०/८१ को आर्थिक विधेयक, विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो ।

न्यायिक समितिका संयोजक समेत रहनुभएको उपप्रमुख रत्नबहादुर लामाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले चालु आर्थिक बर्ष २०७९/८० को बार्षिक नगर योजना माथिको वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नगर सभाको अर्काे बैठक २०८० असार २७ गते बस्ने तय भएको प्रेस संल्लाहकार नगेन्द्र अधिकारीले जनाउनुभयो ।

नगर प्रमुख कुनसाङ लामाद्धारा प्रस्तुत आ.व.२०८०/८१ को नीति तथा कार्यक्रमको पूर्णपाठ

नगर उपप्रमुख रत्नबहादुर लामाद्धारा प्रस्तुत आ.व.२०८०/८१ को लागि बजेटको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस !