हिजोका तितामिठा बिर्सेर तेमालको विकासमा जुट्न मन्त्री तिर्थ लामाको आह्वान
तेमाल–काभ्रेको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँसभाको १३ औं अधिवेशनको शुरुवात गर्दै आइतबार पालिका अध्यक्ष चन्द्र बहादुर तामाङले आगामी वर्ष केन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिकाले बागमती प्रदेश सरकार खानेपानी,उर्जा तथा सिँचाई मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा बजेट अधिवेशन शुभारम्भ गरेको हो ।
सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री लामाले अबको ५ वर्षमा तेमालको आधारभुत विकासको जग बसाउन पालिकाका जनप्रतिनिधिहरु तत्पर भएर लाग्नुपर्ने बताउनुभयो ।
सुशासनका पक्षमा मितव्ययी भएर लाग्न जनप्रतिनिधिहरुलाई अनुरोध गर्दै उहाँले भन्नुभयो–‘आज म मात्रै सुकिला मुकिला भएर भएन,मैले मात्रै राम्रो मिठो खाएर भएन,जनताको स्तर माथि उकास्न हामीले एक ग्लास चिया पिउँदा,एक बोतल पानी पिउँदा पनि जनतालाई सम्झेर,जनताको पीरमर्का बुझेर मितव्ययी तरिकाले हाम्रा व्यवहार प्रस्तुत गर्न सक्नुपर्छ ।
मन्त्री लामाले हिजोका दिनका तितामिठा सबै भुलेर तेमाल निर्माणको अभियानमा जुट्न सबै पार्टीहरुलाई समेत आह्वान गुर्नभयो ।
‘हिजोको ४६/४७ साल अघिको घटना,माओवादी युद्धकाल,विभिन्न पार्टीहरुमा एक अर्काले गरेको कमीकमजोरीहरु अब बिर्सनुपर्छ । कहिले कुन पार्टीले,कहिले कुन पार्टीले कमजोरी गरे होलान् अब हामी कांग्रेस,माओवादी,एमाले,राप्रपा जुन सुकै पार्टीमा आस्था भएपनि ति सबै विर्सेर,कमजोरी भए सच्चिएर,फराकिलो छातीका साथ अगाडी बढ्नुपर्छ ।–प्रमुख अतिथि लामाले भन्नुभयो ।
तेमालको आधुनिक विकासको जग बसाल्ने सिद्धिमान लामा रहेको उल्लेख गर्दै उहाँले लामालाई निकै दुरदर्शी नेताको रुपमा सम्झना गर्नुभयो । भकुण्डे मेच्छे सडक खनेर तेमाललाई सडक सञ्जालसँग जोडेको सिद्धिमानको महत्वपूर्ण देनलाई सम्झिन आवश्यक रहेको उहाँको भनाई छ ।
वडा नं. १ देखि ९ सम्मका वडाहरुमा कुनै खालको विभेद,चिथोमिचो हुन नहुने बताउंदै मन्त्री लामाले समुन्नत गाउँ बनाउने अभियान छेड्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । यसका लागि उहाँले नेपालको संविधान तथा कानुन,स्थानीय सरकार,प्रदेश सरकार,संघ सरकारको कानुन अनुसार नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्न पालिका नेतृत्वलाई सुझाव दिनुभयो ।
सम्बोधनकै क्रममा उहाँले तेमालको विकासका लागि यो पटक प्रदेश सरकारबाट विभिन्न आयोजनामा साढे १७ करोड बजेट विनियोजन गरेको जानकारी पनि दिनुभयो ।
प्रमुख अतिथि लामालाई बागमती प्रदेश सरकारको मन्त्री भएकोमा तेमाल गाउँपालिकाको तर्फबाट बधाई तथा सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
गाउँ अधिवेशनको बन्द सत्रमा पालिका अध्यक्ष तामाङद्धारा सामाजिक विकास,संस्कृति,युवा तथा खेलकुद,लै%िक समानता र सामाजिक समावेशीकरण,स्वास्थ्य,आर्थिक विकास,न्याय,कानुन तथा मानव अधिकार प्रवद्र्धन,सुशासन,सार्वजनिक सेवा तथा क्षमता विकास,वन,वातावरण,जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन,राजश्य तथा आन्तरिक स्रोत परिचालन जस्ता विषयगत तथा क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
‘सुशासन सहितको विकास आजको आवश्यकता गुणस्तरयुक्त पूर्वाधार,शिक्षा,स्वास्थ्य र रोजगारमा हाम्रो प्राथकिमता भन्ने मुल नारालाई आत्मसात गर्दै सुन्दर,समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प,समस्त गाउँपालिका वासीको समृद्धिको चाहाना र मतदाताहरु प्रति गरेको प्रतिज्ञाहरु पुरा गर्न नीति तथा कार्यक्रम केन्द्रित रहेको अध्यक्ष तामाङले बताउनुभयो ।
पालिका उपाध्यक्ष दलमान थोकर(डिएम)ले तेमालको समृद्धिका लागि नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै सफल कार्यन्वयनमा जुट्न सबैमा आह्वान गर्नुभयो । अन्य विषयगत क्षेत्रको विकासका साथै मुख्य त तेमालमा अब सडक सञ्जालमै ध्यान दिने तयारी भइरहेको उहाँको आसय थियो ।
उहाँले भन्नुभयो–‘अब हामीलाई खानेपानी,विद्युतमा संघर्ष गर्नु परेन,यसमा हामी सक्षम भइसकेका छौं,अबको हाम्रो लक्ष्य भनेको तेमाल गाउँपालिकालाई सडक सञ्जालले सिंगो समाजलाई जोड्ने हिसाबले हामी अगाडी बढ्दैछौं ।
यहि नीति तथा कार्यक्रम अनुसार असार १४ गते प्रतिनिधिसभा सदस्य एवं पूर्व उर्जाराज्य मन्त्री सुर्यमान दोङ(लालध्वज)को प्रमुख आतिथ्यतामा बजेट सार्जजनिक गर्ने तयारी भइरहेको उपाध्यक्ष थोकरले जानकारी दिनुभयो ।
पालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङले पालिकाको सबै क्षेत्रको विकासका लागि यो नीति कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।
वडा नं. २ का वडा अध्यक्ष देव तामाङले आइतबार सार्वजनिक भएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सकेमा तेमालमा ठुलो परिवर्तन आउने बताउनुभयो । यसमा सबै एकजुट हुनुपर्ने उहाँको भनाई थियो ।
वडा नं. १ का वडा अध्यक्ष इन्द्र अधिकारीले नीति तथा कार्यक्रम सकारात्मक नै रहेको उल्लेख गर्दै कार्यन्वयन गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले यो नीति तथा कार्यक्रम वडास्तरसम्मै कार्यन्वयनको पाटो दरिलो पार्न सकेमा समृद्ध तेमाल बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा नं. ६ का वडा अध्यक्ष प्रेम लामाले नीति तथा कार्यक्रम राम्रो बनेको धारणा व्यक्त गर्नुभयो ।
वडा नं. ९ का वडा अध्यक्ष चन्द्र बहादुर दोङ(काजी)ले नीति तथा कार्यक्रममा तेमालको सांस्कृतिक,धार्मिक तथा ऐतिहासीक सम्पदाहरु तोङसोम कुण्ड,रोसाइबा,सांगेला स्हयाब्चे लगायतका क्षेत्रको संरक्षण ता प्रर्वद्धन गर्ने कुरा छुट्न पुगेको भन्दै उक्त विषय स्मरण गराउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत केदार प्रसाद ढकालले पालिकाले तुर्जमा गरेको नीति तथा कार्यक्रम कार्यन्वयनका लागि प्रतिवद्ध भएर लाग्न आवश्यक रहेको बताउनुभयो । उहाँले यहि असार १४ गतेको बजेट सार्वजनिक कार्यक्रममा सहभागि हुन गाउँसभा सदस्यहरुमा अनुरोध गर्नभयो ।
छुटेका बुंदा थप गरी गाउँसभा सदस्यहरुको गडगडाहट तालीद्धारा अनुमोदन गरिएको नीति तथा कार्यक्रम कार्यन्वयनका लागि बजेट निर्माण गरी आउने बिहीबार सार्जजनिक गर्ने भएको हो ।
नीति तथा कार्यक्रमको पूर्णपाठ यस्तो छ :