तेमाल–काभ्रेको तेमाल गाउँपालिकाको गाउँसभालाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका खानेपानी,उर्जा तथा सिँचाई मन्त्री तिर्थ लामाले हिजोका दिनका तितामिठा सबै भुलेर तेमालको विकास निर्माणको अभियानमा जुट्न सबैमा आह्वान गुर्नभएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न तेमाल गाउँपालिकाद्धारा आइतबार आयोजित गाउँसभाको १३ औं अधिवेशनको शुभारम्भ गर्दै लामाले यस्तो बताउनुभएको हो ।

‘हिजोको ४६/४७ साल अघिको घटना,माओवादी युद्धकाल,विभन्नि पार्टीहरुमा एक अर्काले गरेको कमीकमजोरीहरु अब बिर्सनुपर्छ । कहिले कुन पार्टीले,कहिले कुन पार्टीले कमजोरी गरे होलान् अब हामी कांग्रेस,माओवादी,एमाले,राप्रपा जुन सुकै पार्टीमा भएपनि ति सबै विर्सेर,सच्चिएर,फराकिलो छातीका साथ अगाडी बढ्नुपर्छ ।–प्रमुख अतिथि लामाले भन्नुभयो ।

तेमालको आधुनिक विकासको जग बसाल्ने सिद्धिमान लामा रहेको उल्लेख गर्दै उहाँले सिद्धिमान लामालाई निकै दुरदर्शी नेताको रुपमा सम्झना गर्नुभयो । भकुण्डे मेच्छे सडक खनेर तेमाललाई सडक सञ्जालसँग जोडेको सिद्धिमानको महत्वपूर्ण देनलाई सम्झिन आवश्यक रहेको उहाँको भनाई छ ।

वडा नं. १ देखि ९ सम्मका वडाहरुमा कुनै खालको विभेद,चिथोमिचो हुन नहुने बताउंदै मन्त्री लामाले समुन्नत गाउँ बनाउने अभियान छेड्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । यसका लागि उहाँले नेपालको संविधान तथा कानुन,स्थानीय सरकार,प्रदेश सरकार,संघ सरकारको कानुन अनुसार नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्न पालिका नेतृत्वलाई सुझाव दिनुभयो ।

सुशासनका पक्षमा मितव्ययी भएर लाग्न जनप्रतिनिधिहरुलाई अनुरोध गर्दै उहाँले भन्नुभयो–‘आज म मात्रै सुकिला मुकिला भएर भएन,मैले मात्रै राम्रो मिठो खाएर भएन,जनताको स्तर माथि उकास्न हामीले एक ग्लास चिया पिउँदा,एक बोतल पानी पिउँदा पनि जनतालाई सम्झेर,जनताको पीरमर्का बुझेर मितव्ययी तरिकाले व्यवहार प्रस्तुत गर्न सक्नुपर्छ ।

मन्त्री लामाले अबको ५ वर्षमा तेमालको आधारभुत विकासको जग बसाउन पालिकाका जनप्रतिनिधिहरु तत्पर भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बोधनकै क्रममा उहाँले तेमालको विकासका लागि यो पटक प्रदेश सरकारबाट विभिन्न आयोजनामा साढे १७ करोड बजेट विनियोजन गरेको जानकारी पनि दिनुभयो । आफू समाज परिवर्तनको ठूलो उद्धेश्य बोकेर राजनीतिक संघर्षको मैदानमा उत्रिएको लामाको धारणा छ ।

प्रमुख अतिथि लामालाई बागमती प्रदेश सरकारको मन्त्री भएकोमा तेमाल गाउँपालिकाको तर्फबाट बधाई तथा सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !