काठमाडौं– भारतीय चलचित्र आदिपुरुष प्रदर्शनका सन्दर्भमा अदालतको निर्णय नमान्ने बताएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता वर्षा कुमारी झाले शाहको पछिल्लो टिप्पणीले अदालतको अवहेलना गरेको भन्दै मेयर शाहविरुद्ध रिट दायर गर्नुभएको हो ।
आदिपुरुषमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरले भारतीय फिल्म आदिपुरुष आफ्नो क्षेत्रमा चलाउन प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि फिल्म हल सञ्चालकले उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले फिल्म सञ्चालनमा प्रतिबन्ध नलगाउन आदेश दिएकोमा यो निर्णय नमान्ने टिप्पणी मेयर शाहले गर्नुभएको थियो ।

मेयर बालेन्द्रले बिहीबार सामाजिक सञ्जालमा लेख्दै देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने बताउनुभएको थियो । उहाँले त्यो फिल्म चलाउन दिनु भनेको अदालत पनि भारतको गुलाम भएको बुझिन्छ भन्दै स्टाटस पोष्ट गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !