काठमाडौं–नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक सङ्गीत विभागद्वारा लोपोन्मुख शुक्रबार असारे तथा दाइ गीत विषयक सङ्गोष्ठी आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको अध्यक्षता तथा वरिष्ठ लोकगायक बम बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

लुगुम्याल चेलीबेटी आमा समूहको पञ्चे बाजासँगै पानसमा दीप प्रज्ज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा असारे तथा दाई गीत विषयक कार्यपत्र तथा साङ्गीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

लोक सङ्गीत विभाग प्रमुख एवं कार्यक्रम संयोजक प्राज्ञ टीका पुनले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा गायक किरण बाबु पुनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्रमाथि पूर्व सांसद एवं संस्कृतिकर्मी बम कुमारी बुढा र डा. धुर्व प्रसाद भट्टराईले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपकुलपति शम्भु राईले मौलिक कला संरक्षणमा राज्यको मात्र मुख ताक्न नहुने बताउँदै पश्चिमका देउडा गाउने कलाकारले पूर्वको हाकपारे,हिमालका शेर्पाले मैथिलीर भोजपुरी गीत र यस्तै प्रकारले एक समुदाले अर्को समुदायको गीत गाउन सक्ने वातावरण बनाउन सके सबै जातजातिका गीत सङ्गीत संरक्षण हुने बताउनु भयो ।

यस्तै कार्यक्रममा आफ्नो विचार राख्दै वरिष्ठ गायक बम बहादुर कार्कीले कला र संस्कृतिको अध्ययन र अनुसन्धानका लागि साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालको स्थापना गरेर अघि बढेको बताउनु भयो ।

कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने क्रममा शिव नारायण जोशी र समूहले घाँसे गीत, अथार मगरात कलाकार संघका कलाकारहरूले दाइँ गीत, पञ्चरङ्ग भजन समूह भक्तपुरका कलाकारले उपत्यकाका नेवार समुदायमा प्रचलित असारे गीत तथा विपिन घिमिरे र शिला विष्टलद्वारा गड्वाली गीत प्रस्तुत गरिएको थियो ।

हरि पुन मगरले सहजीकरण गर्नुभएको काक्र्रममा ख।ब।पु चञ्चलले समसामयिक विषयमा हास्यव्यङ्ग्य प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !