काभ्रे–विश्व सम्पदा सूचीमा सुचिकृत हुने प्रकृयामा रहेको नमोबुद्ध परिसरमा निर्माण गरिएको अनियमित संरचना हटाइएको छ ।

नमोबुद्ध चैत्य छोपिने गरी निर्माण भएको संरचना पुरातत्व विभाग अन्तर्गतको संरक्षित स्मारक तथा दरबार क्षेत्र हेरचाह अड्डाको रोहवरमा नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधी,प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा,प्रहरी,प्रशासन, नमोबुद्ध भगवान घ्याङ गुठी व्यवस्थापन समितिसहित स्थानीय सरोकारवालाको उपस्थितीमा बिहिबार हटाइएको हो ।

पुरातत्व विभागले उक्त संरचना नहटाइ विश्व सम्पदा सूचीमा सुचिकृत हुने प्रकृया अघि बढाउन नसकिने बताएपछि नगरपालिकाले यो कदम चालेको हो ।
यसअघि गर्न नसकिएको यो काम सरोकारवालासँग पटक पटक छलफल गरिएपछि सम्भव भएको जनाइएको छ ।

 

नगर प्रमुख कुनसाङ लामाले विश्व सम्पदा सूचीमा सुचिकृत गर्ने प्रकृया अघि बढाउन उक्त संरचना हटाइएको बताउनुभयो । नमोबुद्ध वडा नं ११ का अध्यक्ष कृष्णबहादुर तामाङले अनियमित संरचना हटाइसकेपछि त्यसलाई थप व्यवस्थित बनाइने बताउनुभयो । नमोबुद्ध भगवान घ्या¨ गुठी व्यवस्थापन समितिका अध्यक्ष लोप्साङ बज्र लामाले थप व्यवस्थित हुने अपेक्षाले आफूले हटाउन स्विकृती दिएको बताउनुभयो ।

पनौतीबाट पूजा र दर्शनको लागि आएकी बौद्धमार्गी विजयलक्ष्मी मानन्धरले यसअघि उक्त संरचना हुँदा झुक्किने, भगवान पछाडी हुने अवस्था रहेको भन्दै उक्त छेकिने संरचना हटाइएकोमा खुशी व्यक्त गर्नुभयो ।

नगरपालिकाको दोस्रो नगर सभाको दोस्रो अधिवेशनले नमोबुद्ध नगरपालिका ११ स्थित धार्मिक,एतिहासिक,पुरातात्विक, सास्कृतिक, वातावरणीय तथा प्राचिन महत्व बोकेको विश्व प्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरपालिकाले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाहरुको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सुचिकृत गर्न आवश्यक प्रकृया अगाडी बढाई थप पहल गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !