
काभ्रे–मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ कुन्ताबेसीमा ‘लक्ष्मी नारायण पार्क’ निर्माण गरिएको छ । पिपलको रुख जीर्ण बनेर जोखिम बढेसंगै उक्त ठाउँमा लक्ष्मी र नारायणको प्रतिभासहितको पार्क निर्माण गरिएको हो ।
पार्कमा ७ फिट उचाई, ३ इन्च चौडाई र १८ इन्च मोटाईको लक्ष्मी नारायणको मुर्ती राखिएको छ । लक्ष्मी नारायणको मुर्ति राखिएको ठाउँ मुनितिर १२ इन्च उचाई, १८ इन्च चौडाई र ४ इन्च मोटाई भएका ४ वटा पाञ्चायान देवताको मुर्ती राखिएको पार्क निर्माण तथा संरक्षण समितिका अध्यक्ष राम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
नगर प्रमुख वाइबाका अनुसार पार्क निर्माणका लागि पहिलो चरणमा नगरपालिका र उपभोक्ता समिति बीच २०७८ साल फागुन ११ गते सम्झौता भएको थियो । पार्क २०७९ साल जेठ ३ गते निर्माण पुरा भएको थियो । पहिलो चरणमा पार्क निर्माणको कुल लागत २२ लाख ९८ हजार ६०८ रुपैयाँ रहेको थियो । पार्क निर्माणमा नगरपालिकाबाट १९ लाख ५६ हजार ७१ रुपैयाँ सहयोग पाएको समितिका अध्यक्ष राम श्रेष्ठले बताउनुभयो ।
पार्कको वरिपरि लक्ष्मी नारायण मुर्ती सहित पार्कको रंगरोगन गर्न दोस्रो चरणमा काम भएको थियो । यो काममा २ लाख ९६ हजार ५ सय खर्च भएको थियो । जस मध्ये नगरपालिकाले २ लाख ५३ हजार रुपैयाँ सहयोग गरेको थियो । बाँकी ४३ हजार रुपैयाँ जनसहभागिता मार्फत लगानी भएको साथै पहिलो चरणको काममा पनि जनसहभागिता बापत ३ लाख ४२ हजार ५३७ रुपैयाँ खर्च भएको समितिले स्पष्ट पारेको छ ।
निर्माण सम्पन्न ‘लक्ष्मी नारायण पार्क’ को हालै नगरप्रमुख टोक बहादुर वाइबाले उद्घाटन गर्नुभएको थियो ।
नगरप्रमुख वाइबाले सबै जात, जाति, भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी विभेद रहित नगरपालिका बनाउने प्रयत्न स्वरुप सबै जाती, धर्म, भाषा र संस्कृतिको संरक्षणमा काम गरिरहेका छौँ । पिपलको रुख ब्यवस्थापन गर्ने बेला केही समस्या आएपनि अहिले पार्क निर्माण पश्चात यो ठाउँलाई पुनः धार्मिक स्थलकै रुप दिन हामी सफल भएका छाँै । अब यसको उचित संरक्षण गर्ने दायित्व पनि तपाई हाम्रै हो ।’
पार्क निर्माणले स्थानीय संस्कृति संरक्षण तथा आराम गर्ने थलोको काम गरेको छ ,चोक घेउमा बनेको यो पार्कले यहाँको सुन्दरता पनि बढाएको स्थानीय बताउँछन् ।