कला सँस्कृतिको जगेर्ना,महिला शसक्तिकरण र आर्थिक समृद्धिको उद्देश्य

  • मायालु लामा,

गोदावरी–ललितपुर जिल्लाको पर्यटकीय गन्तव्य गोदावरीको ऐतिहासिक, पर्यटन क्षेत्रको विकास,कला सँस्कृतिको जगेर्ना साथै महिला मार्फत रोजगारी सृजना गर्दै आर्थिक समृद्धि गर्ने उद्देश्यले यहाँ महिला उद्यम र होम स्टे (घर बास)तालिम शुरु भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ३ को सहयोगमा गोदावरी सरोकारद्वारा आयोजित ‘महिला उद्यम तथा होम स्टे’तालिम वडा कार्यलयको हलमा एक कार्यक्रमबिच समुद्घाटन गरि तालिम सुरु गरिएको हो ।

तालिमको उद्घाटन गर्दै वडाध्यक्ष सानुराजा घिमिरेले आफ्नो वडालाई देशकै उत्कृष्ट नमुना पर्यटकीय वडा बनाउने उदेश्य अनुरूप पौडोल निवासी तामाङ महिलाहरूका लागि महिला उद्यम तथा होम स्टे तालिम सुरु गरिएको बताउनुभयो । स्थानीय उत्पादनको बजारिकरणसंगैसंगै स्थानीय स्तरमै विशेषगरी महिलाहरूका लागि रोजगारी सृजना गर्न तालिमले सघाउ पुग्ने उहाँको भनाई छ ।

गोदावरीको मौलिक खाना, तामाङको सत्कार र घुम्नका लागि सम्पदा क्षेत्र पर्यटकका लागि आकर्षण हुने वडाध्यक्ष घिमिरे बताउनुहुन्छ । वडाको पौडोल निवासी तामाङ बस्तीबाट थालिएको यस्ता कार्यक्रम र यसको सिकाइ नगरपालिकाभर विस्तार गर्न सकिन्छ,उहाँले भन्नुभयो, ‘हामीले गोदावरीको सर्वाङ्गीण विकास गर्नुछ,यसभित्र महिलाहरुलाई लिने हैसियतबाट दिने हैसियतमा र्पुयाउनुपर्नेछ। यसका लागि घरबास पर्यटन एउटा सम्भावना बोकेको कार्यक्रम हो ।’

विभिन्न चुनौतिका बावजुत पनि आफ्नो वडाले नेपालको कुनै पनि वडाले नगरेको कार्य गर्न सफल भएको वडाध्यक्ष घिमिरेको दाबी छ ।

घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउने बताउँदै वडाध्यक्ष घिमिरेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन होम स्टे राम्रो माध्यम हुने भएकोले होम स्टे संचालनका लागि वडाबाट स्थानीय व्यक्तिका लागि विशेष सहयोग र साथ सहित आफुहरुले हरपल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै, वडा सदस्यद्वय सन्तोस कुँवर र संगिता तामाङले वडाले विशेषगरी बेरोजगार महिलाहरूलाई घरमै केही व्यवसाय संचालन गरि आफै आत्मनिर्भर बन्नका लागि यस तालिमले सहयोग पुग्ने बताउनुभयो । आजबाट सन्चालन भएको तालिम पश्चात आन्तरकी पर्यटन प्रवर्दनमा सहयोग पुग्ने उहाँहरूको अपेक्षा छ ।

११ जना सहभागीता रहेको तालिममा होम स्टे संचालनको प्रकृया, अतिथि सत्कार,स्थानीय परिकारहरूको निर्माण, स्थानीय पर्यटकीय स्थलहरूको प्रबद्र्धन तथा साँस्कृतिक गतिविधिहरूका बारेमा तालिम दिईने प्रशिक्षक डाक्टर आनन्द घिमिरेले बताउनुभयो । यसैगरी, महिला उद्यम सम्बन्धि प्रशिक्षण भने शान्ता शाक्यले दिनुभएको थियो ।

तालिममा प्रशिक्षार्थीहरूका लागि अवलोकन भ्रमण कार्यक्रम रहेको र त्यसपश्चात होम स्टे सञ्चालकहरूसग अन्तर्कृया कार्यक्रम रहेको छ । साथै, गोदावरीमा नै सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन हुने तालिम संयोजक एवं गोदावरी सरोकारकी अध्यक्ष बेवी राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागीलाई पर्यटन र यसका पक्ष, होम स्टे प्रवद्र्धन र बजारीकरण, पर्यटन प्रवद्र्धनका साधन र उपयोग, होम स्टेसम्बन्धी कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार र सेवा लगायतका विषयमा सैद्धान्तिक ज्ञान दिइनेछ ।

गोदावरी सरोकारकी सदस्य एवं पत्रकार अनिता महर्जनले संचालन गरेकी कार्यक्रममा वडा सदस्यहरू दिपक लामा, सविना नेपाली, वडाका स्वास्थ्य शाखा र अन्य कर्माचारीहरूका साथै गोदावरी सरोकारका सदस्यहरू गीता पुतवार, द्रौपदी श्रेष्ठ, श्री कुमारी महर्जन लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !