काठमाडौं–यहि जेठ २६ गते शुक्रबारबाट देशभरका सिनेमा हलहरुमा रिलिज हुने चलचित्र ‘नीरफूल’ले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । अभिनेता दयाहाङ राईको बहुप्रतिक्षित चलचित्र ‘नीरफूल’ को बुधबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरिएकोमा सहभागिहरुले सपरिवार बसेर हेर्न मिल्ने साथै नेपाली अग्र्यानिक चलचित्रको संज्ञा दिएका छन् ।
२ घन्टा आठ मिनटको यो चलचित्र हेरेपछि सबैले राम्रो प्रतिक्रिया दिएका हुन् ।
सिनेमाले लगातार आफुलाई बाँध्न सकेको भन्दै नीरफूल एउटा फरक र मौलिक चलचित्र बनेको उनीहरुले भनाई छ । यो चलचित्रका स्कृप्ट,छायाँकन र कलाकारको अभिनय निकै ससक्त रहेको प्रतिक्रिया प्रिमियरमा सहभागी सिनेकर्मी तथा सञ्चारकर्मीले दिए ।
चलचित्र हेरपछि साहित्यकार विना थिङले सामाजिक सञ्जालमार्फत पोष्ट गर्दै भन्नुभएको छ– के तपाईँ उत्कृष्ट छाँयाकन भएको नेपाली फिल्म हेर्न चाहनुहुन्छ ? दयाहाङ राईजस्ता अभिनेतासँग नयाँ अभिनेत्रीको उम्दा अभिनय हेर्न चाहनुहुन्छ ? राज्यले बोल्ने भाषा र जनताले बोल्ने भाषाबीच खाडल रहँदा त्यसले उत्पन्न गर्ने समस्याको चरम रुप हेर्न चाहनुहुन्छ ? अथवा हलभित्र अब के हुन्छ अब के हुन्छ भन्ने हुटहुटी सहित दुई घण्टा समय बिताउन चाहनुहुन्छ । त्यसो भए ‘नीरफूल’ हेर्नुहोला ।’
शुरुवाती प्रतिक्रिया पाएर उत्साहित भएका नायक दयाहाङ राईले आफुले काम गरेको उत्कृष्ट चलचित्रको सूचीमा नीरफूल पर्ने बताउनुभयो । यो चलचित्रले अहिलेको शासन व्यबस्थालाई उजागर गरेको पनि उहाँको भनाई छ । भाषिक हिसाबले आदिबासी जनजातिलाई राज्यले हेर्ने दृष्टिकोण पनि चलचित्रमा प्रस्तुत गरिएको उहाँको धारणा थियो।
बरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार यो चलचित्रका निर्देशक फूलमान बलले आफ्नो सृजनालाई चलचित्रमार्फत प्रस्तुत गरिसकेको र अब दर्शकको जवाफको प्रतिक्षामा आफु रहेको बताउनुभयो । नीरफूललाई आफुले मौलिक सिनेमा बनाउन प्रयास गरेको निर्देशक बलको भनाई छ ।
सेलो राग समुहका कलाकारहरुले डम्फु,ढ्यांग्रो बजाउँदै नाचगान र झाँकी प्रस्तुती दिदै यो चलचित्रका कलाकार तथा पाहुनालाई सिनेमा हलमा स्वागत गरेपछि गरिएको प्रिमियरमा सिनेकर्मी,पत्रकार,लेखक,साहित्यकार,चलचित्र समिक्षक,विभिन्न संघसंस्थाका प्रतिनिधि,अभियन्ता लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
स्वागत गर्ने क्रममा सेलो राग समूहका फूलकुमार बम्जन,शुभ तामाङसँगै नायक राई,बुद्धि तामाङ लगायतका कलाकार आफैं हौसिएर डम्फू बजाउँदै नाच्नुभएको थियो ।
यो चलचित्र शुक्रबारबाट मुलुकका एक सय भन्दा बढी स्कृनमा प्रदर्शनी हुने यसका वितरक गोविन्द शाहीले जानकारी दिनुभयो । सिनेमाको अग्रिम बुकिङ खुला गरिएको छ । यसको अग्रिम बुकिङ पनि राम्रो रहेको वितरक शाहीले बताउनुभयो । फिल्मको वितरकमा शाही र मनोज राठी हुनुहुन्छ । हल सञ्चालकहरुले दयाहाङ राइ अभिनित जारीपछि नीरफूल दर्शकको रोजाइमा पर्ने विश्वास व्यक्त गरेका छन् । शुभकामना हल बनेपाका प्रोपाइटर दुर्गालाल प्रधान भन्नुहन्छ–‘बाहिरी प्रतिक्रिया हेर्दा नीरफूललाई धेरै दर्शकले माया गर्ने देखिन्छ ।’
नीरफूलमा चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युवा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ ।
यस फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेख्नुभएको हो । सचिन यसमा एशोसिएट निर्देशक हुनुहुन्छ । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शन तथा सेलो फाउण्डेशनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुनुहुन्छ ।
निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ,कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा,अशोक थापा,विके श्रेष्ठ लगायत हुनुहन्छ ।
प्रमोद कार्कीको छायांकन रहेको नीरफूलमा अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत तथा दुर्गा खरेल,प्रमोद खरेल अनि राजेशपायल राईको स्वर छ । निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहनुभएको छ ।
(भिडियोसहित)