![](https://namobuddhakhabar.com/wp-content/uploads/2023/06/Bal-bhela-cover.jpg)
भकुण्डेवेशी–बालमैत्री नगर घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले बालबालिकाकै अर्थपूर्ण सहभागितामा योजना तर्जुमा गर्न शनिबार भेला आयोजना गरेको छ । आर्थिक बर्ष २०८०/८१ को योजना तर्जुमा गर्न नगरपालिकामा बाल भेला गरिएको हो ।
नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको भेलामा ११ माध्यमिक विद्यालय र ४ आधारभूत विद्यालयमा रहेका बाल क्लवका पदाधिकारी र प्रतिनिधीको सहभागिता थियो । भेलामा सहभागी बालबालिकाले छलफल गरेर बालमैत्री योजना,बजेट,कार्यक्रम,संरचनाका बारेमा छलफल गरी उपयुक्त योजना प्रस्ताव गरेका छन् । भेलाको बाल अधिकारको क्षेत्रमा कार्यरत कृष्ण घिमिरेले सहजीकरण गर्नुभएको थियो ।
नगर प्रमुख कुनसाङ लामाले नेतृत्व र व्यक्तित्व विकास गर्दै बालबालिकालाई मुलुकाको नेतृत्व गर्न सक्ने क्षमता बनाउनुपर्ने बताउनुभयो । उहाँले बालमैत्री अभियानबारे घर, परिवार, टोल, छिमेक, विद्यालय र समुदायमा सचेत गराउन बालबालिकालाई अनुरोध गर्दै अभियान सफल बनाउन नगरपालिकाले उपयुक्त कार्यक्रमसहित बजेट बिनियोजन गर्ने बताउनुभयो ।
नगर उपप्रमुख रत्नबहादुर लामाले बालमैत्री नगर बनाउन नमोबुद्धले जमर्को गरेकोले बालबालिकाका योजना आगामी बजेटमा समेटिने प्रतिवद्धता जनाउनुभयो । समुदायस्तरमा पनि बालसमूह गठन गर्नुपर्नेमा जोड दिदै उपप्रमुख लामाले प्रशिक्षणहरु पनि चलाउनुपर्ने बताउनुभयो ।
नगर प्रवक्ता समेत रहनुभएका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसीले बजेट विनियोजनको लागि आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो । बाल अधिकारको क्षेत्रमा कार्यरत, सुनवल बाल क्लव सञ्जालका पूर्व अध्यक्ष कृष्ण घिमिरेले बालमैत्री नगर घोषणाको लागि नमोबुद्धका जनप्रतिनिधीले देखाएको तदारुकता प्रशंसनीय भएको बताउनुभयो ।
नमोबुद्धले अभियान अन्तर्गत विभिन्न गतिविधीलाई तिव्रता दिएको नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिनुभयो । उहाँँका अनुसार, नमोबुद्ध नगरपालिकाको टोलीले नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपना लगायतका विविध पक्षबारे जानकारी लिएको थियो ।
सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन् । नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र ६ संस्थागत विद्यालयमा बालमैत्री सूचकहरुको अनुगमन समेत गरेको छ ।
नगरपालिकाले सामुदायिक विद्यालयका जनप्रतिनिधी, बालमैत्री शिक्षक, बाल क्लव सञ्जाल, नगरका कर्मचारी, वडासचिवलाई बालमैत्री अभियान बारेमा अभिमुखिकरण गरिसकेको नगरका प्रेस संयोजक नगेन्द्र अधिकारीले जनाउनुभयो ।
बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागिता सम्बन्धी ५१ वटा सूचकहरु पुरा गरेको हुनुपर्छ ।