चालक पौडिएर बाँच्न सफल,
काभ्रे– भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद्(सीटीईभीटी) का तीन कर्मचारी सुनकोशी नदीमा बेपत्ता रहेको बुझिएको छ । सुनकोशी नदीमा आज विहान स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको हो ।
कार्यालयबाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल हुनुभएको थियो ।
चार जनामध्ये बाँकी तीन जना अझै बेपत्ता रहेको प्रहरीले स्पष्ट पारेको छ । तनहुँ भानु नगरपालिका–९ घर भइ सीटीईभीटी प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका–७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भइ हाल विद्युत प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल अझै बेपत्ता हुनुहुन्छ ।
सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बेपत्ताहरूको खोजी भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो,नेपाल खबरमा खबर छ । तस्बिर : सामाजिक सञ्जाल