
काभ्रे–विवादित नागरिकता विधेयक प्रमाणिकरण गरिएपछि देशभर विरोध शुरु भएको छ । संसदमा छलफल नगरी उक्त विधेयक सरकारको आग्रहमा राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघ काभ्रेले पनि विरोध प्रदर्शन गरेको छ ।
बुधबार साँझ बनेपा चार दोबाटोमा राँके जुलस सहित प्रदर्शन गर्दै नागरिकता विधेयक प्रमाणिकरण गरेर गम्भीर गल्ती गरेको आरोप लगाए । नागरिकता विधेयक खारेज गर,देश बेच्न पाइदैन,हत्यारालाई कारवाही गर,भारतीय दलाल मुर्दावाद जस्ता नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा टिकापर घटनामा अदालतले दोषी ठहर्याएर जैन्मकैद भुक्तान गरिरहेका रेशम लाल चौधरीको रिहाइको पनि विारोध गरेका हुन् ।
विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै एमाले जिल्ला उपसचिव राजकुमार सापकोटाले भन्नुभयो–‘दिउँसो सदन चल्ने अनि छलफलमै नल्याइ विहान विधेयक प्रमाणिकरण गर्ने यो कस्तो लोकतन्त्र हो ?’
युवा संघका अध्यक्ष इश्वर वल्लब सापकोटा र अनेरास्ववियका अध्यक्ष मिलन गौतमले यो विषय राष्ट्रियताको विषय रहेकोले नागरिकता विधेयकको विरोधमा आन्दोलनको शुरुवात भएको घोषणा गर्नुभयो । वक्ताहरुले सरकारको यसखाले गैरजिम्मेवार कदमको विरोधमा जुट्न सबैमा आह्वान गर्नुभयो ।
गैरनेपालीलाई नागरिकता दिनेगरी भारतको निर्देशन र स्वार्थ अनुरुप नागरिकता विधेयक प्रमाणिकरण गरिएको प्रदर्शनकारीहरुको आरोप थियो ।
एमाले कार्यकर्ताको विरोध प्रदर्शन अगाडि बनेपामै राप्रपाका कार्यकर्ताहरुले पनि यहि विषयको विरोधमा प्रदर्शन गरेका थिए ।
अघिल्लो कार्यकालको संसदका बेला तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटकसम्म प्रमाणीकरण नगर्दा निष्क्रिय रहेको विधेयक प्रमाणीकरण भएसँगै विरोध शुरु भएको हो । देशभर नै नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विरोधमा उत्रिएका हुन् ।
प्रहरीले शान्तीपूर्ण प्रदर्शनमा उत्रेका प्रदर्शनकारीको राँके खोसेका थिए । प्रहरीले प्रदर्शनकारीमाथि अपशव्द समेत बोलेको राष्ट्रिय युवा संघ नेपाल काभ्रेका अध्यक्ष सापकोटाले दावी गुर्नभयो ।
विधेयक बुधबार विहान मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गर्नुभएको थियो ।