काठमाडौं–अभिनेता दयाहाङ राईले आउने जेठ २६ गते एकैसाथ देशभरका हलहरुमा रिलिज हुन लागेको नेपाली चलचित्र ‘नीरफूल’ ले नेपाली समाज र समयको आवाज बोल्ने बताउनुभएको छ ।

‘नीरफूल’ टिमद्धारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,– ‘नीरफूल चलचित्र हामीले बाँचेको समय हो,हाम्रो समाज कस्तो अवस्थामा छ,अब कता जांदैछ,यहि कुरा बोल्छ ।’

उहाँले अहिलेसम्म प्रस्ताव आएका र खेलेका चलचित्रहरुमा सबैभन्दा उत्कृष्ट स्कृप्ट लागेर नै आफू नीरफूलमा जोडिएको स्पष्ट पार्नुभयो ।

‘यो चलचित्रमा मेरो जुन चरित्र छ,सपना बोकेर भौतारिएको मान्छे,विपत्ति आउँछ,मेरो छोरी हराउँछ,खाज्दै जाँदा छोरीमात्रै हैन मेरो जन्मस्थान रुविभ्यालीको पाङसाङ पनि हराइसकेको हुन्छ,यसरी आजको समय,नेपाली समाज,यहाँको राजनीति,यसबाट निकै अर्थपूर्ण क्रियटिभ ढंगको सशक्त सन्देश जान्छ भन्ने लाग्छ ।’,अभिनेता राईले थप्नुभयो ।

पत्रकार माझ अभिनेत्री शान्ती लामाले उत्कृष्ट स्कृप्टमा उत्कृष्ट टिमवर्कले उत्कृष्ट चलचित्र बनेको दावी गर्दै यो चलचित्र हेर्नुहुन आम दर्शकलाई अनुरोध गर्नुभयो ।

अर्का अभिनेता बुद्धि तामाङ(हैट) ले नीरफूल मौलिक कथा बस्तुमा तयार भएको नेपाली चलचित्र भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘नीरफूल तपाईंको अगाडि फुल्दैछ,शीरमा लाउनुहुन्छ,भगवानको पाउमा राख्नुहुन्छ वा ओइलिएर त्यसै झर्न दिनुुहुन्छ यहाँहरुको हातमा छ ।’

अभिनेता राजन खतिवडाले पनि चलचित्रको कथा र पारिश्रमीक दुबै पाटो लोभलाग्दो भएकोले आफू नीरफूलमा जोडिएर महत्वपूर्ण भुमिका निर्वाह गर्न पाएकोमा गर्व महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यस खालको चलचित्र हेर्न दशौं वर्ष कुर्नुपर्ने हुन्छ,यति महत्वको लाग्छ ।’

त्यस्तै अभिनेता मानस राज,बाल कलाकार जिग्मे छ्योगी घिसिङ,निर्मातामध्येका प्रतिनिधि फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलका सदस्य यादव गौतम लगायतले पनि चलचित्र राम्रो बनेको उल्लेख गर्दै हेरेर प्रतिक्रिया दिन दर्शकहरुलाई अनुरोध गर्नुभयो ।

 

निर्देशक फूलमान वलले तीन वर्ष अगाडि कोभिड–१९ का कारण रिलिज हुन नसकेको चलचित्र अब प्रदर्शनमा ल्याउन लागेको जानकारी दिनुहुदै चलचित्रले दर्शकको माया पाउनेमा ढुक्क रहेको बताउनुभयो । समाजको कथा फरालिको ढंगले पस्किन चलचित्र क्षेत्र रोजेको उल्लेख गर्दै उहाँले चलचित्र दर्शकको रोजाईमा पर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

चलचित्रबारे उहाँले भन्नुभयो–‘भुइचालो छ यसमा तर भुईचालोको कथा हैन,आइडेन्डिटी क्राइसिस् भर्सेज् करप्टेड सिस्टम भनौं,आज हामीले अखबारमा पेजहरुमा,टेलिभिजनको स्कृनहरु,अनलाइनहरुमा जे देखिरहेका छौं,त्यहि चिजको अलिकति पाटो नीरफूलले क्रियटिभ ढंगले उठाउन खोजेको हो ।’

राष्ट्रिय र अन्तराष्ट्रिय अवार्ड पाएको सर्ट फिल्म ‘सेलफोन’ निर्देशन गरिसक्नुभएका वल निर्देशित फिल्म नीरफूलमा नायक दयाहाङ राई,नायिका शान्ति वाइबा,विशेष भुमिकामा रेखा थापाको हुनुहुन्छ भने बुद्धि तामाङ(हैट),पुस्कर गुरुङ,मानसराज,रोशन फ्युवा,निशा पाख्रिन,सरीता गिरी,जीवन वराल,सन्तोष लामा,विजय लामा लगायतका कलाकारहरुको अभिनय रहेको जनाईएको छ ।

यस फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेख्नुभएको हो । सचिन यसमा एशोसिएट निर्देशक हुनुहुन्छ ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शन तथा सेलो फाउण्डेशनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुनुहुन्छ ।

निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ,कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा,अशोक थापा,विके श्रेष्ठ लगायत हुनुहन्छ ।

प्रमोद कार्कीको छायांकन रहेको नीरफूलमा अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत तथा दुर्गा खरेल,प्रमोद खरेल अनि राजेशपायल राईको स्वर छ । निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !