
काभ्रे–तेमाल गाउँपालिकाका आधारभूत र मावि तहका विद्यालयहरुमा स्वास्थ्य तथा शारीरिक विषय अध्यापन गराउने शिक्षकहरुका लागि बिहीबार पोषण विशेष अभिमुखिकरण गरिएको छ ।
एक दिने अभिमुखिकरण तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङको प्रमुख आतिथ्यता र उपाध्यक्ष दलमान थोकरको विशिष्ट आतिथ्यतामा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष तामाङले पोषणबारेको चेतना जनतामाझ पुग्न अझै उत्तिकै आवश्यक रहेको बताउनुभयो । त्यसका लागि सबैमाझ पोषणबारेका सकारात्मक कुरा फैलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष थोकरले जनतामाझ सहजै सन्देश पुर्याउने माध्यम विद्यार्थी भएको जनाउँदै तालिममा सिकेका पोषण ज्ञानका कुरा विद्यार्थीमाझ प्रभावकारी ढंगले पुर्याउन शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
स्वास्थ्यको सवालमा गाउँपालिका संवेदनशील रहेको बताउँदै उहाँले तेमालका जनताको स्वस्थ जीवनका लागि सबैले आआफ्नो स्थानबाट भुमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
पालिकाको सामाजिक विकास समितिका संयोजक इन्द्र लाल तामाङले मानिसले धेरै खाएपनि शरीरका लागि हानिकरक नै हुने उल्लेख गर्दै सन्तुलित भोजनले मात्र पोषणको मात्रा सहति हुने कुरा आम जनतामा पुर्याउन तालिमबाट सिकेका कुरा शिक्षकहरुले व्यवहारिक रुपमा कार्यन्वयनमा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका अतिथि पालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल र स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले ज्ञान प्रसारको केन्द्र विद्यालयहरुबाट मानिसको स्वास्थ्यबारे महत्वपूर्ण जानकारी प्रवाह गर्नेक्रममा शिक्षकहरुले पोषणका विषयलाई पनि स्थान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कुपोषणको असर तथा स्वस्थ जीवनका लागि पोषणको महत्वको बारेमा नमोबुद्धस्थित मेथिन्कोट अस्पतालका डा.जगदिस उप्रेतीले सहजिकरण गर्नुभएको थियो ।
सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ७ का वडाध्यक्ष,पालिकाका प्रवक्ता इन्द्र लाल तामाङको सभापत्विमा भएको कार्यक्रममा १८ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।