संविधान रक्षा र स्थायित्वको मुख्य चुनावी एजेण्डा बनाएर एमाले विरुद्ध वाम लोकतान्त्रिक मोर्चाबन्दी गरेर चुनावमा होमिए। एमाले पनि तत्कालीन सत्तासीन गठबन्धन विरुद्ध अन्य साना शक्तिसँग काँध मिलाएर चुनावमा होमिएको थियो।
वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा सोचे जस्तो नतिजा आएन, नेकपा एमालेलाई खुम्च्याउने रणनीतिमा आशावादी सफलता गठबन्धनले हासिल गर्न सकेन।
०७४ मा पहिलो पार्टी बनेको एमाले यसपटकको चुनावमा दोस्रो स्थानमा झरेको थियो। वाम लोकतान्त्रिक गठबन्धनलाई सरकार गठनका लागि आवश्यक बहुमत थिएन। अपुग केही सांसद आफूतिर तानेर सरकार गठन गर्न सक्रिय वाम लोकतान्त्रिक गठबन्धनभित्र प्रधानमन्त्रीको पहिलो कार्यकालले खटपट सिर्जना गरेको थियो।
कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पहिलो कार्यकालको प्रधानमन्त्री हुने अडिसके। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवालाई यसअघि प्रधानमन्त्री हाँकिसकेकोले पहिलो कार्यकाल आफूले पाउनु पर्ने अडानमा थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय सीमा १० पुसमा सकिँदै थियो। वाम लोकतान्त्रिक गठबन्धनमा प्रधानमन्त्रीको विवाद चर्किंदै गयो।
अन्तिम समयमा देउवाको साथ छोडेर प्रचण्ड विगतको तिक्तता बिर्सिंदै बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाउन पुगे।
एमाले सहित अन्य साना दलका १६८ जना सांसदको समर्थनमा तेस्रो शक्ति माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने। वाम लोकतान्त्रिक गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनको कित्तामा प्रचण्ड पुगेपछि कांग्रेसको हातबाट सत्ता फुत्कियो।
संसदको सबैभन्दा ठूलो दल कांग्रेसले मुखमै आएको केन्द्रदेखि प्रदेशसम्मका सत्ता गुमाएर हात खाली बनेको थियो। तत्कालीन समयमा प्रतिपक्षमा रहेको एमाले भने सरकारमा पुग्यो।
नयाँ समीकरण अनुसार नै सातै प्रदेशमा पनि एमाले नेतृत्वको गठबन्धनकै सरकार बनेका थिए। एकाएक सत्ता बाहिर पुगेको नेपाली कांग्रेसले प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डसँग दूरी बढाएन बरु उनलाई विश्वासको मत दिए।
प्रचण्डले प्रधानमन्त्रीमा अद्भूत विश्वासको मत पाएपछि नेकपा एमाले झस्किएको छ। कांग्रेसले सत्ताका लागि ढोक्सा थापेको भन्दै एमाले अध्यक्ष ओलीले कडा आलोचना नै गरिरहेका छन्।
कांग्रेस एमाले नेतृत्वको गठबन्धनलाई भत्काएर पुरानै गठबन्धन ब्यूँताउने रणनीतिमा छ। सत्तारुढ गठबन्धनमा खटपट सुरु भइसकेको छ। सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरिएको छ।
सभामुखमा उम्मेदवारी दिएर पराजित कांग्रेस राष्ट्रपतिको चुनावसम्म गठबन्धन भत्किएर सत्ता आफ्नो हातमा आउनेमा विश्वस्त छ।
सत्ता बाहिर रहेको डेढ महिनामै कांग्रेसले सत्तामा ‘कमब्याक’ गरेको छ। देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट कांग्रेसले सत्ता यात्रा सुरु गरेको छ।
सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार विश्वासको मत नपाएर एक महिनामै ढलेपछि एमाले देउवाको प्रदेशको नेतृत्वबाट बहिर्गमन परेको हो।
मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई समर्थन गरेको सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएन।
संविधानको धारा १६८(२) अनुसार २७ पुसमा एमाले नेतृत्वको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त रावलले २७ माघभित्र विश्वासको मत लिइसक्नु पर्ने थियो। तर उनले विश्वासको मत जुटाउन नसक्दा एक महिनामै सत्ता छोड्नु परेको हो।
संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन्। उनले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने हुन्छ।
नागरिक उन्मुक्तिले कांग्रेसलाई समर्थन नगरेर अहिलेकै सत्ता समीकरण यथावत् रहेमा शाहले पनि विश्वासको मत पाउने अवस्था छैन।
५२ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउनका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ।
नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र एक/एक सांसद छन्।
नेपाली कांग्रेसका नेताहरु एमालेले विश्वासको मत नपाउने देखि पछि केही दिन अघिदेखि नै सरकार बनाउन सक्रिय छन्। उनीहरु पुरानै गठबन्धन ब्यूँताउने रणनीतिमा छन्।
पहिलेदेखि नै नेकपा एकीकृत समाजवादी कांग्रेसको साथमा छ। कांग्रेसलाई नागरिक उन्मुक्तिले समर्थन नगरे एकीकृत समाजवादी सहित माओवादीको समर्थन आवश्यक पर्छ। यसो हुँदा पुराना वाम लोकतान्त्रिक गठबन्धन ब्यूँतिने छ।
एकीकृत समाजवादीले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने संसदीय दलका नेता दीर्घबहादुर सोडारीले बताए।
‘हामी कांग्रेस सरकारमा सामेल हुन्छौं,’ उनले भने, ‘सँगै चुनाव लडेर आयौं, हाम्रो भोटले कांग्रेस जित्यो, कांग्रेसका भोटले हामी जित्यौं।’
माओवादी केन्द्र लगायत अन्य दलहरुसँग सत्ता सहकार्यका लागि छलफल चलाउने कांग्रेस नेताहरु बताउँछन्।
‘सबैसँग सहकार्यका लागि छलफल गर्छौं, एमालेलाई सुदूरपश्चिमबाट धक्का दिएका छौं, यहाँबाट दिएको दिएको धक्काको पराकम्प केन्द्रसम्म पुग्छ,’ कांग्रेस सांसद मेघराज खड्काले भने, ‘पहिले केन्द्रबाट असर तल पर्थ्यो, अब प्रदेशबाट केन्द्रतिर सर्यो।’
from nepalkhabar.com