काठमाडौं-प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पुरानो गठबन्धन ब्युँताउने चेष्टामा देखिएको छ । त्यसै अनुसार तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई फकाउने रणनीतिमा लागेको छ।

पुस १० गतेसम्म तत्कालीन सत्ता गठबन्धनमै रहेको माओवादीलाई पुरानै अवस्थमा फर्काउन जुटेको कांग्रेस संसदको दोस्रो ठूलो दल नेकपा एमालेलाई भने चिढ्याउने रणनीतिसहित अघि बढेको हो ।

कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर पुस १० गते भत्किएको आफू नेतृत्वको ५ दलीय सत्ता गठबन्धनलाई ब्युँताउने प्रयासस्वरुप माओवादी फकाउने र एमाले चिढ्याउने रणनीति बनाएको हो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्यत्रय प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलको फरक मतबीच प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादीविरुद्ध उम्मेदवारी नै नदिने भएको छ।

सत्ता गठबन्धनले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारमा माओवादी नेतृ उर्मिला अर्याललाई अघि सारेको छ। कांग्रेसको उम्मेदवारी नपर्ने भएपछि अब अर्याल निर्विरोध हुने करिब निश्चित जस्तै छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले उम्मेदवारी नदिने निर्णय गरेर एमालेलाई थप चिढ्याउने प्रयास गरेको छ।

गत पुस १० गते भत्किएको तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउने प्रयासमा रहेको कांग्रेसले आसन्न राष्ट्रपति निर्वाचनमा माओवादी समर्थन लिने प्रयास गरिरहेको छ।

यही प्रयासस्वरुप कांग्रेसले माओवादीले उम्मेदवारी दिएका संघदेखि प्रदेशसम्मका विभिन्न पदहरुमा समर्थन गरिरहेको राजनीतिक वृत्तमा चर्चा छ।

प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रपति निर्वाचन (फागुन २५) मा साथ पाउने आश्वासन पाएको कांग्रेसले बागमतीसहितका प्रदेशहरुमा माओवादीका तर्फबाट सत्ता गठबन्धनका मुख्यमन्त्रीहरुलाई विश्वासको मत दिएको थियो।

कांग्रेसले सत्ता गठबन्धनका तर्फबाट एमालेले अघि सारेका उम्मेदवारहरुविरुद्ध भने चुनौती दिएर एमाले र माओवादीबीच फाटो ल्याउने प्रयास गरिरहेको छ।

एमाले र माओवादीबीच फाटो ल्याउनकै लागि कांग्रेसले सत्ता गठबन्धन स्पष्ट बहुमतमा रहे पनि एमाले उम्मेदवार देवराज घिमिरेविरुद्ध सभामुखमा उम्मेदवारी दिएको थियो।

कांग्रेसले प्रतिपक्षी नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको थियो।

सभामुखमा एमालेले झापा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा घिमिरेलाई सत्ता गठबन्धनबाट अघि सारेको थियो। उनी सभामुखमा निर्वाचित भइसकेका छन्।

त्यस्तै कांग्रेसले प्रतिनिधिसभा उपसभामुखम पनि उम्मेदवारी दियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद इन्दिरा राना मगरविरुद्ध कांग्रेसले समानुपातिककै सांसद मुक्ताकुमारी यादवलाई उठाएको थियो। जहाँ एमालेको समेत साथ पाएकी मगर विजयी भइन्।

साभार : नेपाल खबर

photo : The Kathmandu Post 

प्रतिक्रिया दिनुहोस !