बदलिँदो जीवनशैलीका कारण युवा अवस्थामै हृदयाघात हुन थालेको विषय चिन्ताजनक हो । गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीको भनाईमा पनि यो पुष्टि हुन्छ । उनका अनुसार जीवन शैलीकै कारण मान्छेको मृत्युको पहिलो कारण मुटुरोग बनिरहेको छ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर वर्षेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न नागरिक रहेका छन्।

नेपालमा १० वर्षयता हृदयाघातका बिरामी बढिरहेको केन्द्रका निर्देशक डा. अधिकारीले बताए। उनले नेपालमा एक दिनमा मात्रै युवा उमेरका चार जनालाई हृदयघात भएर अस्पताल आउने गरेको बताए।

मुख्य गरेर जाँडरक्सी र चुरोट सेवन गर्ने भएकाले १९/२० वर्षकै युवालाई पनि हृदयाघात भएर अस्पताल ल्याइने जानकारी उनले दिए। नेपालमा मुटुरोगका बिरामीको यकिन तथ्यांक भने छैन तर, वर्षेनि गंगालाल पुग्ने बिरामीको संख्या भने बढ्दै गइरहेको छ।

सन् २०१२ मा गंगालालमा चार सय ९५ जना हृदयाघात भएका बिरामी भर्ना गरिएको थियो। २०१८ मा यो संख्या १ हजार ४६० पुगेको थियो।

गत दस वर्षमा केन्द्रमा भर्ना हुने बिरामी ४० देखि ५० प्रतिशत हृदयाघातका रहेको उनले बताए।

‘पहिलो पटक हृदयाघात भएका सय मध्ये २३ जनाको मृत्यु अस्पताल नपुग्दै हुन्छ,’ डा अधिकारीले भने।

त्यस्तै दोस्रो, तेस्रो पटक हृदयाघात हुँदा बिरामीको मृत्यु हुने सम्भावना अझै बढेर जाने उनी बताउँछन्। उनका अनुसार गंगालालमा हृदयाघात भएर पुगेका बिरामीमध्ये सात प्रतिशतको मृत्यु हुने गर्छ।

‘हृदयघात भएर गंगालाल अस्पताल पुग्ने ४५ वर्षभन्दा कम उमेरका बिरामीमध्ये ७० प्रतिशत चुरोटे युवाहरु हुन्छन्,’ उनले भने, ‘मुख्य गरेर युवाहरुमा धुमपान गर्ने, बोसोयुक्त खानकुरा बढी खाने, चिन्ता र निष्क्रिय जीवनशैली भएका युवाहरुमा हृदयाघात बढी भइरहेको छ।’

२०१५ देखि २०१६ सम्मको तथ्यांक हेर्दा यो अस्पतालमा ४५ भन्दा कम उमेरका १३२ जना हृदयाघात भएर पुगेका थिए। जसमध्ये ११० जना पुरुष र २२ महिला छन्। तीमध्ये लगभग ७० प्रतिशतले चुरोट खाने गरेको उनले बताए।

५० वर्षभन्दा कम उमेरका मानिसले चुरोट सेवन गर्छ भने उसलाई हृदयाघात हुने सम्भावना चुरोट नखाने मानिसको तुलनामा आठ गुणाले बढी हुन्छ।

हृदयाघात बिरामीको संख्यामा वृद्धि हुनुको मुख्य दुई वटा कारण रहेको उनी बताउँछन्।

डा अधिकारीका अनुसार, उपचारको दायरा बढ्दै गइरहेको छ। अहिले सहरमा मात्र नभएर गाउँतिर पनि मुटुमा कुनै समस्या देखिने बित्तिकै सजिलै ईसीजी सेवा उपलब्ध छ। जसले गर्दा मुटुमा कस्तो खालको समस्या छ भनेर ईसीजी जाँचले देखाउँछ।

‘हृदयाघात भएर छाती दुखेको १२ घण्टाभित्र अस्पतालमा आएर बन्द भएको मुटुको नसा खोल्नु पर्छ, जसलाई प्राइमरी एन्जिओप्लास्टी प्रविधि पनि भनिन्छ,’ उनले भने।

मुटु रोग जन्मजात र जन्मेको केही समयपछि हुने गर्दछ। जन्मजात रुपमा हुने मुटु रोग रोकथाम गर्न गाह्रो हुने र जन्मिएपछि हुने मुटु रोग रोकथामका लागि जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले बताए।

कसरी जोगिने?
डा. कोइरालाले हृदयाघात जस्ता नसर्ने रोगबाट बच्नका लागि विद्यालय स्तरबाटै स्वस्थ मुटुको विषय पाठ्यक्रममा समावेश गर्नु पर्ने धारणा सुनाए।

‘हृदयघात नियन्त्रण र जनचेतनाका लागि सरकारीस्तरबाट काम हुनु पर्छ,’ उनले भने ‘जनताले पनि जथाभावी आफ्नो स्वास्थ्यको ख्याल नै नराखेर चुरोट खाने र धेरै धुलोधुवाँमा बस्ने जीवनशैली अपनाउनु हुन्न। यदि हामीले यी कुरामा वास्ता गरेनौँ भने सरकारी कार्यक्रमहरु असफल हुदै जान्छ।’

हृदयाघात वा मुटुमा आउने समस्याको प्रमुख कारण निष्क्रिय जीवनशैली, खानपान, धुम्रपान, मद्यपान प्रमुख कारक रहेको उनी बताउँछन्।

खानपानमा ध्यान दिने, पत्रु वा जंक फुड नखाने, धुमपान नगर्ने, व्यायाम गर्ने, ध्यान बस्ने र दैनिक हिँड्ने गरे मुटु रोगबाट बच्न सकिने उनले बताए।

मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले पनि २०/२२ वर्षमै हृदयाघात हुनुको कारण चुरोट र रक्सी नै रहेको बताए।

‘जो धेरै चुरोट र रक्सी सेवन गर्छ, उनीहरुलाई युवा अवस्थामा पनि हृदयाघात हुनसक्छ,’ उनले भने।

४० वर्षभन्दा कम जसलाई हृदयाघात हुन्छ, त्यसको प्रमुख कारण भनेको चुरोट रक्सी सेवन, कोलस्टोर र बंशाणुगत कारण रहेको उनको भनाइ छ।

मुटुमा लाग्ने रोगहरुमध्ये सबैभन्दा घातक र बढ्दै गइरहेको रोग हृदयाघात भएको मुटुरोग विशेषज्ञ डा.प्रेमराज वैद्यले बताएका छन्।

त्यसैले हृदयाघातबाट बच्नका लागि सबैले यसमा ध्यान दिनु पर्नेमा उनले जोड दिए।

विश्वमा मुटु रोगको अवस्था
विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेहरुमध्ये ३२ प्रतिशत मुटुरोग रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। मुटुमा समस्या भएर ज्यान गुमाउने मध्ये ८५ प्रतिशत हृदयाघात रहेको उल्लेख गरिएको छ।

संगठनका अनुसार यी कारक तत्वलाई न्यूनीकरण गर्न सकेमा झन्डै ८० प्रतिशत रोगको भार कम गर्न सकिन्छ। विश्व मुटु महासंघको तथ्यांक अनुसार विश्वभर वर्षेनि एक करोड ८६ लाख मानिसको मुटु रोगका कारण मृत्यु हुने गरेको छ।

नेपालमा २५ वर्षदेखिका व्यक्तिहरुमा उच्च रक्तचापको समस्या देखिएको महासंघले जानकारी दिएको छ। विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्नेहरुमा हृदयाघातको समस्या बढी देखिएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०१९ मा पाँच हजार ५९३ जनामा गरेको एक सर्वेक्षणका अनुसार १० वर्षभित्र ४० देखि ६९ उमेर समूहको मानिसलाई मुटु रोगको जोखिम ३० प्रतिशतभन्दा बढी हुने देखाएको छ।

साभार नेपाल खबर : समृद्धा केसी

प्रतिक्रिया दिनुहोस !