काभ्रे–पोल्ट्री ब्यवसायका लागि उर्वर क्षेत्र यो जिल्लामा सप्ताहव्यापी विविध कार्यक्रमका साथ दशौं राष्ट्रिय पोल्ट्री दिवस मनाइएको छ । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण सुधार हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ सप्ताह व्यापी नै कार्यक्रमहरु गरेको जनाएको छ ।

यसै क्रममा जिल्लाका विभिन्न क्षेत्रका विद्यार्थी,सुत्केरी,गर्भवती तथा श्रमिकहरुलाई अण्डा वितरणका साथै अण्डाको परिकार खुवाउने कार्यक्रम भयो । प्रोटिनको उत्कृष्ट श्रोत मानिएको अण्डाको परिकार दुई विद्यालयका २२० जना विद्यार्थीहरुलाई दिवा खाजा स्वरूप बनाएर खुवाइएको हो भने पनौती ५ स्थित सुब्बगाउ स्वास्थ्य चौकीको संयोजनमा गर्भवती र सुत्केरी महिलाहरुलाई अण्डा वितरण गरिएको हो ।

नगर प्रमुख रामशरण भण्डारी,वडा अध्यक्ष विनोद खत्री,पोल्ट्री व्यवसायी संघका सल्लाहकार तथा वरिष्ठ पत्रकार मधुसुधन गुरागाईं लगायतका अतिथिहरुको समेत उपस्थितीमा अण्डा वितरण कार्यक्रम गरिएको हो ।

बालबालिकाहरुलाई कुपोषणबाट जोगाउन अण्डाको प्रयोग महत्वपूर्ण मानिएको बताउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाईले बागति प्रदेश सरकारले पोल्ट्री दिवस मनाउन गरेको परिपत्र अनुसार सांकेतिक रुपमा केहि विद्यालयका विद्यार्थी,बनेपाका श्रमिक,केहि क्षेत्रका सुत्केरी,गर्भवति महिलाहरुका लागि अण्डा वितरण गरिएको जानकारी दिनुभयो ।

सप्ताहब्यापी कार्यक्रम अन्र्तगत विभिन्न क्षेत्रमा अण्डाको प्रयोग तथा उपभोगका बारेमा जानकारी गराउने गरी सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गरी विविध कार्यक्रमहरु गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

हुमागाईंका अनुसार बुधबार पनौती ५ चौकोटमा पनि कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाई,पोल्ट्री मञ्च काभ्रेका सचिव दयाराम महत,स्वास्थ्य चौकी इन्चार्ज विनोद कुईकेल लगायतको सहभागितामा कार्यक्रम भएको हो ।

कार्यक्रममा चौकोटस्थित स्वास्थ्य चौकीमा नियमित परिक्षण गराउने गर्भवति महिलाहरुलाई खाजाको रुपमा अण्डाको परिकार खुवाइएको थियो । त्यस्तै धुलिखेलको बाल मन्दिर र धनेश्वर प्रावीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अण्डाको परिकार खाजाको रूपमा खुवाएको प्रमुख ह्ुमागाईंले जानकारी दिनुभयो ।

बिहीबार जिल्लाको समग्र पोल्ट्रीका विषयमा बृहत्त अन्र्तक्रिया आयोजना गरिएको थियो । सोहि कार्यक्रममा पोल्ट्री ब्यवसायी लगायतले जिल्लाको समग्र विषयमा कार्यपत्र प्रस्तुतीकरण र छलफल भएको हो ।

पोल्ट्री दिवस मनाउँने क्रममा अवैध रूपमा भारतबाट भित्रने कुखुरा तथा चल्लाहरु नियन्त्रणका लागि थप अभियान संचालन गर्ने गरी सोहि स्थानमा कार्यक्रम आयोजना गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख हुमागाईले बताउनुभयो ।

सप्ताहव्यापी कार्यक्रमको समापन रोशी गाउँपालिकाको मंगलटारमा सचेतनामुलक कार्यक्रम सहित आइतबार गरिएको थियो ।

फोटो : सकुदेव थपलिया

प्रतिक्रिया दिनुहोस !