-
लोक बहादुर लामा
काभ्रे–पेशाले अध्यापन भए पनि समाज सेवामा उत्तिकै सक्रिय क्षेत्र लामाले आफ्नै विद्यालयका ९० बालबालिकालाई सुइटर कपडा बाँड्नुभएको छ ।
बढदै गएको चिसोका कारण स्कुले बालबालिकामा पर्ने असर देखेर आफ्नै मनमा चिसो पसेको बताउँदै लामाले रोशी गाउँपालिका ४ स्थित नागदेवि माविका बाल विकाशदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई सुइटर वितरण गर्नुभएको हो ।
आइतबार जाडोमा न्यानो सुइटर पाएपछि बालबालिकाहरु खुसी भएका छन् ।
शिक्षक लामाले सामान्य शैक्षिक सामाग्री अभावकै कारण बालबालिकाले बिद्यालय छोड्नु पर्ने अवस्था नहोस् भन्दै विभिन्न समयमा विद्यार्थीको अवस्था हेरि शैक्षिक सामाग्री समेत वितरण गर्दै आउनुभएको छ ।
अहिले सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएकोमा चिन्ता जनाउँदै उहाँ सामुदायिक बिद्यालयमा विद्यार्थी आकर्षणका लागि योजना बनाउंदै गरेको बताउनुहुन्छ ।
समाजसेवामा रुचि
सामान्य परिवारमा जन्मेका लामा शिक्षण पेशापछि बचेको समय समाज सेवामा समर्पित गर्नुहुन्छ । लागुपदार्थ दुब्र्यसनमा लागेको युवालाई परामर्श दिने,उनीहरुलाई सचेतना जगाउन सल्लाह सुझाव दिने कार्य गर्नुहुन्छ ।
श्रमप्रति सकारात्मक आस्था बढाउने खालको शिक्षा र अभियान आवश्यक रहेको बताउने लामाले श्रमप्रतिको सम्मानमा जोड दिनुहुन्छ । काम गर्न सबैलाई प्रोत्साहन दिनुहुन्छ ।
गाउँघरमा वातावरण तथा ब्यक्तिगत स्वास्थ्य सम्बन्धि सचेतना जगाउँदै पर्यावरणको संरक्षण अभियानमा पनि हुनुहुन्छ लामा । पर्यावरण बचे मानव तथा जीव अस्तीत्व रहने भन्दै उहाँले आजको लागि मात्रै हैन भोलिका लागि पनि पृथ्वीको भविष्यबारे चिन्तन गर्नुपर्ने बताउनुहुन्छ । वातावरण संरक्षण अभियानमा सचेतना स्वरुप आफैं डोको बुनेर मानिसहरुको चहलपहल हुने चोक चोकमा फोहोर संकलनका लागि राख्ने,फलफूल तथा अन्य विरुवा रोपौं अभियान सञ्चालन गर्ने गर्नुहुन्छ ।
गाउँघरमा हुने कुनै प्राकृतिक प्रकोप,भई पर्ने समस्याहरुमा स्वयंसेवी भएर सामाजिक कार्यक्रमहरुमा सेवा गर्न रुचाउने लामा ग्रामीण क्षेत्रका कैयौं युवाका लागि एक उदाहारण अनि प्रेरणा हुनुहुन्छ ।