काभ्रे–सरकारले बालविवाह जस्ता सामाजिक समस्याहरुलाई न्यूनिकरणका लागि जनचेतनामूलक अभियानहरु सञ्चालन गर्न छोडेको छैन ।

छलफल,अन्तरक्रिया,गोष्ठी त छंदैछ,यसबाहेक सडक नाटक,रेडियो तथा भिडियो कार्यक्रम मार्फत सन्देश छर्ने काम अलि प्रभावकारी मानिदै आएको छ ।

यसैबिच खानीखोला गाउँपालिकाले बालविवाह अन्त्यका लागि सन्देश प्रवाह गर्न सडक नाटक माध्यमलाई अंगीकार गरेको छ ।

यो स्थानीय सरकारले आफ्नो क्षेत्रमा हुने गरेको बाल विवाह अन्त्य गर्न चेतनामूलक सडक नाटक जुनकिरी प्रदर्शन कार्यक्रम अभियानकै रुपमा आइतबारदेखि थालेको हो ।

आदि इत्यादी समूहका कलाकारहरुले पहिलो दिन यस खालको सडक नाट पालिकाको धार्ने र वालविकास माविमा प्रस्तुत गरे ।
बागमती प्रदेश सरकारको आर्थिक सहयोग तथा गाउँपालिकाको सहकार्यमा सडक नाटक गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरुमा प्रदर्शन थालिएको पालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ)ले बताउनुभयो ।

‘हामी बनाउछौं हाम्रो खानी खोला’ नारा अन्तर्गत यहि उदेश्य पूरा गर्न पालिकामा रहेका विभिन्न समस्याहरु मध्ये बालविवाह रोक्न सहयोग पुग्छ भन्ने हेतुले जनचेतनामूलक नाटक प्रदर्शन अभियान थालेको उहाँले स्पष्ट पार्नुभयो ।

सम्पत्ति घर,धन दौलत नभई वास्तविक सम्पत्ति छोराछोरी नै भएको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘छोराछोरीको भविष्य प्रति खेलवाड नगरौं,संवेदनशीलता अपनाऔं भन्ने सन्देश प्रभावकारी ढंगले पुर्याउन र कार्यन्वयनका लागि प्रभावकारी दबाब र शिक्षा पुग्छ भनेर यो नाटक प्रदर्शन कार्यक्रम थालिएको हो ।’

त्यस्तै गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले नाटकले बालविवाह गर्दा के कस्तो समस्या आउँछ भन्ने कुरालाई कलाकारले जीवन्त चित्रण गरेको बताउनुभयो ।

नाटकले निकै मन छोएको विद्यार्थी,शिक्षक एवं स्थानीय अभिभावकहरुको प्रतिक्रिया छ । अज्ञानता,प्रविधिको दुरुपयोग,शिक्षामा लगानीका लागि आर्थिक समस्या जस्ता कारणले कम उमेरमा गरिने विवाह सामाजिक समस्याको रुपमै रहेको भन्दै उनिहरुले अब यसप्रति चेत जगाउने काम नाटकले गरेको बताएका हुन् ।

यो नाटक १८ गते शारदा मावि देउराली र जनहित मावि महाँकालमा क्रमशः ११ र ३ बजे देखाइने छ भने १९ गते बुद्ध मावि धाप्लेमा विहान ११ बजे प्रस्तुत गरिनेछ ।

२० गते कुमारी मावि जगथली र भृकुटी मावि सौरे हुँदै २१ गते जन विकास मावि ताल्ढुङ्गमा प्रदर्शन गरेपश्चात समापन गरिने पालिका अध्यक्ष थिङले जनाउनुभयो ।

समाचार र फोटो : इकमान लामा

 

प्रतिक्रिया दिनुहोस !