फाइल तस्विर
विराटनगर–प्रदेश १ को संसदीय दलको नेतामा लज्जास्पद हार व्यहोरेका केन्द्रीय सदस्य अमृत अर्याल आफ्नो हारको कारणप्रति आक्रोसित देखिएका छन् । शनिबार पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीमाथि आफूलाई हराएको भन्दै आक्रोस पोखेका हुन् ।
उनले आफूलाई हराउने काममा सक्रिय भएको आरोप लगाए । ‘म ०३५ सालदेखि निरन्तर नेपाली कांग्रेसमा सक्रिय भएर लागिरहेको छु, यो समयमा म ८ पटक जेल परेको छु,’ अर्यालले भने, ‘पछिल्लो समयमा मलाई पार्टी सभापति शेरबहादुर देउवा र ज्ञानेन्द्रबहादुर कार्कीको टिम आश्वासन दिनुभएको थियो र मैले उठ्ने तयारी गरेँ तर उहाँहरुले त्यो अनुसार काम गर्नु भएन्।’
गत शुक्रबार दलको नेतामा विजयी हुने दाबीसहित मनोनयन दर्ता गरेका अर्यालले आफ्ना प्रस्तावक र समर्थकमध्ये एकको मत नै पाएनन् । उनको समर्थकमा सुनसरीकी सुनिता कुमारी गुरुङ र प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ थिइन् ।
देउवा पक्षको भए पनि विजयकुमार गच्छदारसँग निकट भएका कारण गुरुङले मतदान नगरेको अर्याल निकट नेताहरुको बुझाई छ ।
गच्छदारले दलको नेताको निर्वाचनमा उद्धब थापालाई समर्थन गरेका थिए । दलको नेतामा पराजित भएपछि शनिबार पत्रकार सम्मेलन गर्दै अर्यालले दलको नेतामा भएको आफ्नो पराजयको सम्पूर्ण दोष पूर्व सूचना तथा सञ्चारमन्त्री कार्कीलाई लगाएका हुन् ।
अर्यालले दलको नेतामा कार्कीकै डिजाइनमा आफूलाई हराएर मानमर्दन गरेको समेत बताए । प्रदेश १ संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा प्यानलबाट अर्याल उम्मेदवार थिए । दलको नेतामा कृष्णप्रसाद सिटौला पक्षका थापा १८ मतसहित विजयी हुँदा अर्यालले जम्मा २ मत मात्रै प्राप्त गरे ।
डा.शेखर कोइराला पक्षका अर्का प्रत्यासी केदार कार्कीले ९ मत पाए । २०७० सालको निर्वाचित संविधानसभा सदस्य अमृत अर्याल मंसिर ४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए ।
भागबण्डा मिलाउनुपर्ने भएपछि सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउने आश्वानसहित उनलाई प्रदेशमा पठाएका थिए । मुख्यमन्त्रीका अर्का प्रमुख दाबेदार राजिव कोइराला पराजित भएपछि मोरङ ५(२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका अर्याललाई गठबन्धनबाट भावी मुख्यमन्त्रीको रुपमा हेरिएको थियो ।
तर यतिबेला कांग्रेस–माओवादीसहितको गठबन्धन फुटेको छ र यसअघि आफ्ना कार्यकर्तालाई सभापतिले आफूलाई मुख्यमन्त्री बनाउन पठाएको बताउने गरेका अर्याल संसदीय दलको चुनावमा लज्जास्पद हार व्यहोरेपछि आफ्नै नेतृत्वप्रति आक्रमक भएको खबर नेपाल खबरमा प्रकाशित छ ।