फाइल तस्विर : आदि इत्यादी समूह
काभ्रे–खानीखोला गाउँपालिकाले आफ्नो क्षेत्रमा हुने बालविवाहलाई न्यूनीकरण गर्न सडक नाटक प्रदर्शन गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले आइतबारदेखि गाउँपालिका भित्रका सामुदायिक माध्यमिक तहका विद्यालयहरुमा सडक नाटक जुनकिरी देखाउन लागेको जानकारी दिनुभयो ।
आदि इत्यादी नामक समूहका कलाकारहरुले विद्यालय–विद्यालयहरुमा पुगेर नाटक देखाउने भएका हुन् ।
पालिका अध्यक्ष छिन्ताङले भन्नुभयो–‘बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यसहित सो सम्बन्धि चेतनामूलक नाटक पालिकाभित्र रहेका माविहरुमा प्रस्तुत गर्ने तयारी छ ।’
उहाँका अनुसार गाउँपालिकाले नाटक प्रस्तुत हुने विद्यालयको नामसँगै समय र मिति सहितको सूचना प्रकाशित गरेको छ । जसमा २०७९ पुस १७ गते विहान धार्ने ज्योति माविमा र सोही दिन दिउँसो ३ बजे बालविकास मावि फलामेटारमा नाटक प्रस्तुत हुनेछ ।
त्यस्तै १८ गते शारदा मावि देउराली र जनहित मावि महाँकालमा क्रमशः ११ र ३ बजे नाटक देखाइने छ भने १९ गते बुद्ध मावि धाप्लेमा विहान ११ बजे प्रस्तुत हुनेछ ।
त्यसपछि २० गते कुमारी मावि जगथली र भृकुटी मावि सौरे हुँदै २१ गते जनविकास मावि ताल्ढुङ्गमा समापन गर्ने पालिकाको तयारी छ ।
नाटकबाट बालविवाह हुंदा निम्तिने नकारात्मक असरबारे जानकारी,अत्मनिर्भरताको विकास,शिक्षाको महत्व लगायतका विषयमा सामाजिक सन्देश जागृत हुने र यसबाट बालविवाह न्युनिकरणमा बल पुग्ने स्थानीयस सरकारको विश्वास छ ।