आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु

काठमाडौं–कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीपछि परिवारलाई भिडियो सन्देश पठाएर १२ तलाबाट हाम फालेका झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षी निराकार पाण्डेको मृत्यु भयो । आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएकोमा मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक पाण्डे हुन् ।

पाण्डेका सहपाठी दिनेश सिलवालले बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको पुष्टि भएको अनलाइनखबरलाई बताए । ‘त्यहाँ एकजना नेपाली साथी पनि हुनुहुन्थ्यो, उहाँले स्थानीय प्रहरीमा गएर शव सनाखत गर्नुभएको छ’,सिलवालले भने, ‘थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव ल्याउनका लागि पहल भइरहेको छ ।’

उनले नेपाली कन्सुलेट जनरलबाट पत्र लिएर शव ल्याउने प्रक्रिया थालिने बताए । सिलवालका अनुसार व्यवसायको सिलसिलामा सिलवाल एक महिना अघि भिजिट भिसामा कम्बोडिया गएका थिए । उनी अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा थिए । त्यहाँको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा उनी बसेका थिए ।

स्थानीय समयअनुसार बिहीबार राति साढे ११ बजेपछि आगलागी सुरु भएको बीबीसीले जनाएको छ । आगलागी भएपछि केही व्यक्ति भवनबाट हामफाल्दै गरेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।

‘राति आगो लागेको थाहा पाएपछि उहाँ निस्किन खोज्नुभएछ, साथीहरुले पनि करिडोरबाट माथि जान भनेका रहेछन्’, सिलवालले अनलाइनखबरसँग भने, ‘तर उहाँको करिडोरसम्म आगो लागिसकेको रहेछ ।’

बाहिर निस्किन सक्ने सम्भवना नरहेपछि सिलवालले घरमा फोन गरेर परिवार र आफन्तसँग कुरा गरेका थिए । ‘मलाई पनि भिडियो म्यासेज र सन्देशहरु पठाउनु भएको रहेछ’, सिलवालले भने, ‘म चाहिँ सुतिसकेकाले उठाउन पाइनँ ।’

बाहिर सार्वजनिक भएको एक भिडियो सन्देशमा पाण्डेले दिनेशलाई आफ्नो परिवारको ख्याल राखिदिन भनेका छन् । उनले अब आफू नरहने भन्दै ९ वर्षीय छोरा र परिवारको हेरचाह गरिदिन भनेका छन् ।

निराकरका बुबा विर्तामोड १ का वडाध्यक्ष छन् । उनका सहपाठी वडा नं। ३ का वडाध्यक्ष मदन बुढाथोकी भन्छन्, ‘मैले पनि भिडियोहरु हेरेँ, एकदमै विक्षिप्त भएँ ।’

उनले परिवारका सदस्यहरु भिडियो हेरेर विक्षिप्त भएको बताए । एक भिडियोमा उनले छोरालाई धेरै माया गर्ने बताउँदै भनेका छन्, ‘राम्रो मान्छे बन्नु है छोरा । कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न ।’
अनलाइन खबर डट कम

प्रतिक्रिया दिनुहोस !