काभ्रे–नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का एमाले उम्मेदवार रेशम लामाले नेकपा एमाले जनताको अभिमतको कदर गर्ने पार्टी रहेको बताउनुभएको छ ।

मंगलबार पनौतीमा आयोजित पार्टीका १ नं. क्षेत्रिय स्तरका जनवर्गीय संगठनका पदाधिकारी भेलालाई सम्बोधन गर्दै उहाँले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचन निर्वाचनका लागि मात्रै नभएर एक खालको जनमत संग्रह नै रहेको धारणा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो–‘यो निर्वाचन हामीलाई जित्नका लागि र प्रतिपर्धीलाई हराउनका लागि मात्रै हैन,यो निर्वाचन जनादेश र परमादेश बीचको जनमत संग्रह हो ।’

एमाले जहिले पनि जनताको आदेशलाई शिरोपर राख्ने पार्टी रहेको उल्लेख गर्दै लामाले जनतादेशले मात्रै नेपालको विकास,राष्टियता नेपाली जनताको सार्वभौमिकतालाई अक्षुम्न राख्ने बताउनुभयो ।

उहाँले गत निर्वाचनमा जनताको म्याण्डेट पाएको एमालेले अघि सारेका विकासका एजेण्डा पूर्ण रुपमा कार्यन्वयन गर्न नदिई सत्ताको घृणित खेलमा लागेर अदालतको परमादेशबाट सत्ता प्राप्त गर्दा रमाउने गठबन्धनका दलहरुबाट आश गर्ने कुनै ठाउँ नरहेको जिकिर गर्नुभयो ।

एमालेले ७४ को निर्वाचन तथा स्थानीय चुनावका क्रममा गरिएका प्रतिवद्धताहरुलाई पूर्णता दिन पनि एमालेले जित्न आवश्यक रहेको तर्क गर्दै संविधानसभा सदस्य तथा पूर्व मन्त्री समेत रहेका लामाले थप्नुभयो–‘एमालेले आरम्भ गरेको विकास निर्माण,कार्यक्रम,समृद्धिको अभियानलाई हामीले गरेका हौं भन्ने हिम्मत उहाँहरुमा छैन,यसैले देशभर झैं काभ्रे क्षेत्र नं. १ का गाउँगाउँमा जनताको आवश्यकतालाई पूरा गर्न पनि एमालेले जित्न आवश्यक छ ।’

भेलामा क्षेत्र नं. १ अन्र्तगत प्रदेशसभा (क)का उम्मेदवार दिलिप लामा र प्रदेशसभा(ख)का उम्मेदवार चन्द्र लामाले नेकपा एमाले हिजो,आज र भोली सदैव जनताको पक्षमा रहेको बताउनुभयो ।

एमालेकै नेतृत्वमा सडक पूर्वाधार,खानेपानी,शिक्षा,स्वास्थ्य,कृषि,युवा तथा खेलकुद क्षेत्रका साथै सामाजिक विकासको पाटोमा महत्वपूर्ण कामहरुहरु अघि बढेको स्पष्ट पार्दै उहाँहरुले समृद्धिको पक्षमा रहेका आम काभ्रेली जनाताले एमालेमाथि गरेको भरोशा नडगमगिने विश्वास व्यक्त गर्नुभयो । जनताको भरोशा र विश्वासलाई शिरमा राखेर काम गर्दै आएको उल्लेख गर्दै एमाले उम्मेद्वारहरुले त्यसलाई पूर्णता दिने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !