गठबन्धनकै विरुद्ध हुमागाईंको उम्मेद्वारी

धुलिखेल–आगामी मंसिर ४ गते हुन लागेको संघ(प्रतिनिधिसभा) र प्रदेशसभाको निर्वाचनमा भाग लिन चाहाने उम्मेद्वारहरुले आईतबार उम्मेद्वारी दर्ता गराएका छन् । जिल्लाको २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्रबाट दलका नेताहरुका साथै स्वतन्त्र व्यक्तिहरुले समेत उम्मेद्वारी दर्ता गराएका हुन् । स्थानीय निर्वाचनमा मिलेर चुनाव लडेका सत्तारुढ लोकतान्त्रिक वाम गठबन्धन यो पटक पनि कायम रहेपछि जिल्लाको चुनावी माहौल कस्तो होला भन्ने चासोका बीच उम्मेद्वारी दर्ता सम्पन्न भएको हो ।

जिल्लामा खास प्रतिस्पर्धा लोकतान्त्रिक वाम गठबन्धन र नेकपा एमालेबीच नै हुने देखिएको छ । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का लागि गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता पूर्व उर्जाराज्यमन्त्री सूर्यमान दोङ(लालध्वज) ले उम्मेद्वारी दिनुभएको छ । नेकपा एमालेको तर्फबाट रेशम लामाले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

दोङ २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नं. १ बाट निर्वाचित भएर उर्जाराज्यमन्त्री हुनुभएको थियो भने एमालेका नेता लामा पनि संविधानसभा सदस्य हुदै सहायक मन्त्री हुनुभएका प्रभावशाली नेता मानिन्छ ।

क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ मा गठबन्धनका तर्फबाट माओवादीका रत्न प्रसाद ढकालको उम्मेद्वारी परेको छ भने प्रदेशसभा ‘ख’ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामाले उम्मेद्वारी दर्ता गराउनुभयो । शुक्रबार कांग्रेस केन्द्रिय सदस्य गणेश लामालाई दिएको टिकट मनोनयन दर्ताको विहानीपख आफैंले लिएर तिर्थ लामा एमालेका नेता चन्द्र लामासँग प्रतिस्पर्धामा उत्रिनुभएको हो ।

२०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नं. १ बाट निर्वाचित भएका तिर्थ र बागमती प्रदेशका निवर्तमान सांसद एवं पूर्व कृषि मन्त्री चन्द्र लामाबीच प्रदेशसभा ‘ख’ मा प्रतिस्पर्धा हुने पक्का भएको हो । नेकपा एमालेको तर्फबाट क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ मा शालिन नेता दिल बहादुर तामाङ (दिलिप)ले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

यस्तै जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का लागि नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाले उम्मेद्वारी दर्ता गराउनुभएको छ भने उहाँसँग लोकतान्त्रिक वामठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति शिव हुमागाईं प्रतिस्पर्धामा देखिनु भएको छ । मनोनयन दर्ताकै विहानीपख कांग्रेस नेता मधु आचार्यको टिकट फुत्काउन सफल हुमागाईं पनि जिल्लामा प्रभावशाली नेता मानिन्छ । उहाँले गठबन्धनको साझा उम्मेद्वारको रुपमा मनोनयन दर्ता गराउनुभएको हो ।

क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ मा गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका नेता निवर्तमान प्रदेशसभा सदस्य लक्ष्मण लम्सालको उम्मेद्वारी परेको छ भने प्रदेशसभा ‘ख’ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बागमती प्रदेश कमिटि महामन्त्री कञ्चनचन्द्र वादेले मनोनयन दर्ता गराउनुभयो ।

लम्साल र वादेसँग क्रमश नेकपा एमालेका नेता कुमार खकुरेल र कुमार थापा प्रतिस्पर्धामा उत्रिनुभएको छ । खकुरेलले क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ र थापाले प्रदशेसभा ‘ख’बाट उम्मेद्वारी दर्ता गराउनुभएको हो ।

तराई लगायका केहि स्थानमा नेकपा एमालेसँग तालमेल गरेका जनता समाजवादी पार्टी(जसपा)ले काभ्रेका जिल्लामा मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भएको हो । जसपाका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. १ मा धनबहादुर तामाङ, १ को प्रदेश सभा‘क’ मा मानबहादुर तामाङ र प्रदेश सभा ‘ख’ मा बुद्धबहादुर लामाले उम्मेद्वारी दर्ता गराउनुभयो।

यसका साथै जिल्लामा राप्रपा,राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका साथै केहि स्वतन्त्र रुपमा पनि उम्मेद्वारी दर्ता भएका जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट पारेको छ ।

निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ तथा १ को प्रदेशसभा ‘क’ र ‘ख’ का लागि जिल्लाको पनौती र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा २ को प्रदेशसभा ‘क’ र ‘ख’ का लागि धुलिखेलस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गर्ने कार्य आईतबार सम्पन्न भएको हो ।

देशभरझैं यो जिल्लामा पनि नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी,राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादस् पार्टी(लोसपा) सहितको लोकतान्त्रिक वामगठबन्धन र नेकपा एमालेबीच कडा टक्कर हुने भएको हो । २०७४ मा सम्पन्न संघ र प्रदेशको निर्वाचनमा पहिलो पार्टी बनेको एमाले यो गठबन्धनसँग बलियो मनोबलका साथ चुनावी मैदानमा आएपछि यो जिल्लामा पनि प्रतिस्पर्धा कडा हुने विश्लेषण गरिएको छ ।

दलगत रुपमा स्थानीय तहको गत निर्वाचनको मत हेर्दा पनि पहिलो नै भएपछि एमालेमा पनि उत्साह नघट्ने बताइन्छ । 

गठबन्धनकै विरुद्ध हुमागाईंको उम्मेद्वारी

गठबन्धनमा जिल्लाको क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ तथा क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ र ‘ख’ दुवै दावी गर्दै आएको नेकपा एकिकृत समाजवादीले असन्तुष्टि जनाउँदै क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’ मा पनि उम्मेद्वारी दर्ता गराएको छ । निवर्तमान प्रदेशसभा सदस्य रहेका वसुन्धरा हुमागाईंले गठबन्धनकै विरुद्ध उम्मेद्वारी दर्ता गराउनुभएको हो ।

बागमती प्रदशेका निवर्तमान कृषि तथा पशुपन्छी विकासमन्त्री हुमागाईंले एकदिन अगाडि मात्रै समाजिक सञ्जालमार्फत काभ्रेमा गठबन्धन सत्य र न्यायचित हुने अपेक्षासहित दृढतापूर्वक लाग्ने प्रतिवद्धता जनाउनुभएको थियो । केहि दिन अगाडी आफू पुनः निर्वाचन  लड्न चाहेको अभिव्यक्ति सार्वजनिक गरेका नेकपा एकिकृत समाजवादी काभ्रेका अध्यक्ष समेत रहेका हुमागाईंले टिकट नपाएपछि असन्तुष्टि जनाउनुभएको हो ।

गठबन्धनको तर्फबाट क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’ को उम्मेद्वार बनेका कांग्रेस नेता वादे समाजवादीका नेता हुमागाईं(तत्कालिन वामगठबन्धन उम्मेद्वार) बाट २०७४ को निर्वाचनमा पराजित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !