
काभ्रे–महाभारत गाउँपालिकामा बर्षातका कारण बिग्रेका स्थानीय सडहरुको मर्मत कार्य धमाधम भइरहेको छ । दशैंका बेला सहज आवाजजावत तथा यातायात सुचारु गर्न पनि गाउँपालिकाका प्रत्येक वडामा स्थानीय सडक मर्मत कार्य भइरहेको हो ।
वर्षातले अधिकांश ठाउँका सडकहरुमा क्षति पुगेकोमा यसको मर्मतमा पालिकाको ध्यानाकर्षण भएको र आवश्यक बजेट विनियोज गरि ती सडकहरु धमाधम मर्मत भइरहेको अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।
सबै वडालाई निर्देशन दिएसंगै मर्मत कार्य धमाधम भइरहेकोले दशैमा आउजाउ गर्ने सबै स्थानीयलाई सहज हुने उहाँको भनाई छ । मर्मतसँगै केहि वडाहरमा बस समेत सञ्चालन हुन थालेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार वर्षा अझै कम नहुँदा खोलामा पानी नघटेकाले केहि ठाउँमा भने असहज स्थितिको सामना गर्नुपरेको छ ।
हालैको गाउँकार्यपालिका बैठकले सडक मर्मतको लागि चौकिडाँडा बुढाखानी महादेवटार बेसारे देवीटार घर्तिछाप सोला धाप हुदै छोटेसहान सडकमा १० लाख, घर्तिछाप मैनडाँडा गल्टार आँपटार धाप सडकमा ४ लाख ५० हजार, देवीटार गल्टार राङचा आहाले बाँसपुर उध्याउने बनखु वाङगेसाल गोलटार सडकमा ५ लाख ५० हजार, ताराखसे स्याप्लेडाँडा सोक्तेल अमबलबास हुदै टोकेदमार सडकमा ७ लाख, मसाने भन्ज्याङ पात्ले जोरछाँगा राटमाटे हुदै स्याप्लेडाँडा सडकमा ४ लाख ५० हजार, सोला चारकिल्ला चौडिक खोलाघारी हुदै तीनखुट्टे रागेभन्ज्याङ लामीडाँडामा ४ लाख, भुमीचुली मजुवा गुँरासे हुदै भलडाँडा मजुवा बह्रबिसे वडा कार्यालय सडकमा ३ लाख ५० हजार र टुनिबाँस घुँडे बेतेनी गोगने विसाउनेडाँडा सडकमा ३ लाख बजेट विनियोजन गरि धमाधम काम भइरहेकोछ ।
भौगोलिक रुपमा डाँडा,भीर पाखा क्षेत्र बढि रहेकोले वर्षातको समय यो गाउँपालिकाका यी अधिकांश सडक क्षति हुने गरेको छ । स्थानीय सरकारले हरेक बर्ष मर्मत सम्भार गर्दै आएको छ । स्थानीय सरकारको तदारुकताले गर्दा दशैता देखि हिउँदका समय भएपनि स्थानीय सार्वजनिक यातायातको सहज पहुँचमा हुने गर्दछन् ।