बनेपा–दशैंको अवसरमा बनेपामा सुरु भएको काभ्रे महोत्सवको छैठौं दिन आजको आकर्षणको रुपमा चर्चित गायिका ज्योति मगर र गायक सञ्जिव वाईबा हुने भएको छ ।
जिल्लाको परम्परागत कला संस्कृति,औद्योगीक व्यापार,घरेलु,कृषि,पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको पाँचौं काभ्रे महोत्सवमा आज गायिका एवं मोडल मगरका साथै चर्चित सेलो गायक वाईबाको प्रस्तुती रहने भएको हो ।
उत्साहसाथ युवादेखि बुढापाका सम्मलाई उत्तेजनापूर्ण सायरी,हाउभाउ र सांगीतिक प्रस्तुती दिएर चर्चामा छाउदै आएका मगरलाई आज निमन्त्रणा गरिएको हो ।
गायिका एवं मोडल मगरले सामाजिक सञ्जाल टिकटकमार्फत आफू आफ्नो प्रस्तुतीका लागि शनिबार काभ्रे महोत्सवमा आउने सन्देश दर्शकस्रोतामाझ छोड्दै कार्यक्रममा सहभागि हुन दर्शकहरुलाई अनुरोध समेत गर्नुभएको छ ।
आजै चर्चित सेलो गायक सञ्जिव वईबाको पनि दम्दार प्रस्तुती रहने छ । दर्जनौं नेपाली,सेलो गीत तथा तामाङ गीत गाएर सदाबहार कलाकारको छबि बनाएका वाईबाले पनि दर्शकहरुलाई मनोरञ्जन दिनुहुनेछ । उहाँले पनिननिमन्त्रणा अनुसार सांगीतिक प्रस्तुतीका लागि काभ्रे महोत्सवमा आउने सन्देश दिनुभएको छ ।
कलाकार मगर र वाईबाका साथै चन्द्र सिं घले लगायत अन्य कलाकारहरुको पनि मनोरञ्जनात्मक प्रस्तुती समेटिने शनिबारको कार्यक्रम रहेको छ ।
कोभिडले थलिएको व्यापार व्यवसाय क्षेत्रमा सकारात्मक सन्देश प्रवाहका लागि असोज ३ गतेदेखि १५ गतेसम्म स्थानीय उग्रेश्वर मन्दिर परिसरमा महोत्सव आयोजना गरिएको काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेको भनाई छ ।
उहाँका अनुसार महोत्सवमा दर्शक सहभागिताको दायरा फराकिलो पार्न स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुको प्रस्तुती राखिएको हो ।
दशैंको बेला सहज र सुलभ ढंगले उपभोग्य सामाग्री उपलब्धताका लागि महोत्सवले भुमिका खेल्ने भएकोले सर्वसाधारणको सेवालाई ख्याल गरेर नै महोत्सव आयोजना गरिएको महासंघका महासचिव रविन्द्र वैदारले बताउनुभयो ।
महोत्सवमा स्थानीय उत्पादनदेखि अन्य औद्योगिक सामाग्री,कृषि उपजका स्टलदेखि मनोरञ्जनका लागि बाल उद्यान,रोटे पिङ, मिनि बञ्जी जम्प,मिकी माउस,नाउ,ड्रागन,टेम्पोलिङ्गको व्यवस्था समेत गरिएको छ ।
महोत्सवमा विभिन्न बस्तु,उत्पादनका सय बढि स्टलहरु राखिएको सञ्चार संयोजक मणिराम दाहालले जनाउनुभयो । ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा १ करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।