काभ्रे–जिल्लाको पाँचखालमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पाँचखाल नगरपालिका र किङ्ग्स कलेजको संयुक्त आयोजनामा पेशागत तयारी कार्यशाला सञ्चालन गरिएको छ । कार्यशालामा विद्यार्थीहरूलाई नयाँ पेशा वा व्यवसायमा प्रवेश गर्नु अगाडि आवश्यक पर्ने सीपबारे प्रशिक्षण सन्चालन गरिएको हो ।
‘रेज्युमे’‘बायोडाटा बनाउने र कभर लेटर लेख्ने तयारी कार्यशालमा गराइएको आयोजकले बताएको छ । आयोजकका अनुसार अन्तरवार्ताको सीप र अवसरहरूको लागि ‘लिङ्क्डइन’ को प्रयोग र व्यवस्थापनको प्रशिक्षण गराइएको कार्यशालाको सहजीकरण ‘जब्स स्नाइपर’ नामक संस्थाका सह–संस्थापक उज्ज्वल कोइराला र उज्ज्वल पौडेलले गर्नुभएको हो ।
पाँचखाललाई शिक्षाको हब बनाउने भिजन भएको भन्दै नगर प्रमुख महेश खरेलले नगरका हरेक युवालाई आजको बजार र समाजको लागि योग्य बनाउने जानकारी गराउँदै आगामि दिनमा पेशागत तयारी र विकासका लागि अझै धेरै कार्यक्रमहरू सन्चालन गर्ने जानकारी दिनुभयो ।
पाँचखाल नगरपालिकाका शिक्षा शाखा प्रमुख दीनानाथ पन्थीले यस्तो कार्यशालाले नयाँ अवसर खोज्न, पाउन र समग्र वृत्ति विकासको लागि सहयोग पुरयाउने दावी गर्नुभयो । आजको प्रतिस्पर्धाको बजारमा सबै विद्यार्थीहरूले आफूलाई सबल र सक्षम बनाउन आवश्यक रहेको उहाँको भनाई छ ।