file photo
काठमाडौं–पाँचौं दिनको बयान सँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध लागेको महाअभियोगबारे सोधिएका ४३ वटै प्रश्नको जवाफ दिने काम सकाउनुभएको छ ।
११ सदस्यीय महाअभियोग सिफारिस समितिको मंगलबारको बैठकमा यसअघि बाँकी रहेका ८ वटा प्रश्नको जवाफ दिएसँगै ४३ प्रश्नको जवाफ सकिएको हो ।
सांसदहरुले प्रतिप्रश्न गर्दा बयान लम्बिने भन्दै पछिल्लो २ दिनको बैठकमा जबराबाट जवाफमात्रै लिइएकोले सबै प्रश्नको जवाफ समयमै सकिएको हो ।
शुरुवाती ३ वटा बैठकमा प्रतिप्रश्न गरेका सांसदहरुले पछिल्लो २ बैठकमा प्रतिप्रश्न गरेनन्,४३ मुल प्रश्नको जवाफ लिएपछि अब सांसदहरुले जबरासँग पूरक प्रश्न सोध्ने तयारी छ ।
अर्को बैठकको मिति निर्धारण गरिएको छैन तर संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आयु असोजको सुरुमै सकिँदैछ ।
प्रतिनिधिसभाबाटै उत्पति भएको महाअभियोग सिफारिस समितिको पनि औचित्य सकिने अवस्था आएमा महाअभियोग पनि स्वत निष्क्रिय हुन सक्ने देखिन्छ ।
संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन समितिलाई तीन महिनाको समय दिएको थियो ।