प्रविधिलाई समृद्धिसँग जोड्ने शिक्षा
बेथानचोक–काभ्रेको बेथानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति,कार्यक्रमका साथै सो नीति,कार्यक्रम कार्यन्वयनका लागि ५९ करोड ११ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
चालु खर्चतर्फ ३१ करोड ५ लाख रुपैयाँ पुँजीगत तर्फ २८ करोड ६ लाख रुपैयाँको बजेट शुक्रबारको ११ औं गाउँसभामार्फत सार्वजनिक गरिएको हो ।
यस्तो छ नीति,कार्यक्रम :
पालिकाले जिल्लाकै उच्च स्थानमा रहेको बेथानचोक नारायणथानको मन्दिरको सांस्कृतिक पर्यटन विकासलाई महत्व दिएको छ । आन्तरिक तथा वाह्य पर्यटक भित्राई यो क्षेत्रको प्रवद्र्धनका साथै स्थानीयको जीविकाको उत्थानका लागि नीति तथा कार्यक्रम बनाएको हो । यसका लागि यो क्षेत्रसम्म केबलकार सञ्चालन तथा प्रदेश राजधानी हेटौँडा प्रवेश गर्ने छोटो मार्ग ढुर्खक–फापरबारी–हेटौँडा सडकको दुर्लुङखोला च्याम्राङबेसी खण्डमा सुरुङ मार्गको अध्ययन गर्ने स्पष्ट पारिएको छ । पदयात्रा पर्यटन प्रवद्र्धनका लागी महाभारत ट्रेलको अवधारणा समेत ल्याएको छ ।
पालिका अध्यक्ष भगवान अधिकारीद्धारा प्रश्तुत नीति तथा कार्यक्रममा गाउँपालिकामा सञ्चालन गर्नु पर्ने आयोजनाहरूको प्रोजेक्ट बैंक तयार गर्ने र प्रदेश तथा संघको सहकार्यमा आयोजना कार्यान्वयन पहल गर्ने योजना समेत उल्लेख छ ।
गाउँपालिका प्रविधि मैत्री गाउँपालिकाको रूपमा पहिचान गराउन डिजिटल गाउँपालिकाको रूपमा विकास गर्ने, जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने, शान्ति सुरक्षा कायम गर्न,गाउँपालिकाको प्राकृतिक स्रोत साधनको रेखदेख तथा संरक्षण गर्न गाउँ प्रहरीको व्यवस्था मिलाउने, कृषि नीति , स्वास्थ्य नीति , पर्यटन नीति तर्जुमा गरी निजी क्षेत्रसँग समन्वय गर्ने नीति लिएको छ ।
प्रभावकारी यातायात व्यवस्थापनको लागी आफ्नो मौलिक पहिचान बोकेको बेथानचोक सफारीको व्यवस्था मिलाउने, फोहोर व्यवस्थापनका लागि वडा स्तरमा फोहोर व्यवस्थापन तथा अनुगमन समिति गठन गरी प्रभावकारी रूपमा परिचालन गर्ने, जैविक, अजैविक फोहोरलाई उत्पादन तह देखी नै वर्गीकरण गरी जैविक फोहोरबाट घरमै कम्पोस्ट मल बनाउन प्रेरित गर्ने योजना अघि सारेको छ ।
श्रम, सिप र उत्पादनसँग जोड्न माटो सुहाउँदो प्राविधिक शिक्षाको व्यवस्था गर्ने, शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारसँग, रोजगारलाई आयसँग, आयलाई पुँजीसँग , पुँजीलाई लगानीसँग,लगानीलाई प्रविधिसँग र प्रविधिलाई समृद्धिसँग जोड्ने शिक्षाको लागी बेथानचोक बहुप्राविधिक शिक्षालय स्थापनाको प्रयास गर्ने नीति सार्वजनिक गरिएको छ ।
‘गाउँपालिका अध्यक्ष ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन गरी ज्येष्ठ सदस्यहरूमा स्वास्थ्य सेवाको पहुँच र्पुयाउने, ६० वर्ष पुगेका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने, सुत्केरी आमा पोसिलो खाना कार्यक्रम सञ्चालन गर्ने उद्घोष समेत गरेको छ ।
पालिकाले अभिभावक विहीन बालबालिकाको संरक्षणको लागी प्रत्येक महिना प्रत्येक २ हजार रुपैयाँ संरक्षण भत्ता दिने, उद्यमशील कार्यक्रमहरू सञ्चालन गरी उत्पादित बस्तुलाई ब्रान्डिङ गर्ने नीति गाउँपालिकाको छ ।
नीतिले गाउँपालिकालाई काठको पोल मुक्त बनाउने,कृषि योग्य जमिनको पहिचान गरी नमुना व्यावसायिक खेतीको रूपमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालनमा जोड दिने, सामुदायिक खेती, करार खेती र व्यावसायिक खेतीको व्यवस्था मिलाई जग्गा बाझो नराख्ने नीति अवलम्बन गर्ने, कृषि, पशु तथा श्रम सहकारी स्थापनामा जोड दिएको छ । यसका साथै स्थानीय लड्कु खोला र च्याल्टी खोलाको पानीबाट विद्युत् उत्पादनका लागी सम्भाव्यता अध्ययन गर्ने योजना पनि ल्याएको छ ।