- शिशिर दोङ
चुखा-काभ्रेको तेमाल गाउँपालिका वडा नं २ मा एमालेको तर्फबाट स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारहरुले आइतवार साविक वडा नं ६ बाट घरदैलो अभियान शुरु गरेका छन् ।
पूर्व गाविस अध्यक्ष नेकपा एमालेका जिल्ला सल्लाहकार परिषद सदस्य संग्राम तामाङ,नेकपा एमालेबाट यसअघि निर्वाचित वडा अध्यक्ष तिमाल सिं तामाङ लगायतको शुभकामना एवं आफ्नै बृद्धाआमाबाट शुभ आशिर्वाद र सगुन ग्रहण गरेर वडा अध्यक्षका उम्मेदवार वीरनन्द तामाङको टोलिले घर दैलो अभियान शुरु गरेको हो ।
वडा नं २ मा अध्यक्षमा वीरनन्द तामाङ,खुल्ला सदस्यमा प्रताप सिं तामाङ, बुद्धिमान तामाङ,महिला सदस्यमा सिर्जना तामाङ र महिला दलित सदस्यमा पार्वती सुचिकार यो वैशाख ३० गते हुने स्थानीय तहको चुनावी मैदानमा हुनुहुन्छ ।
घरदैलो अभियानका क्रममा निस्केको यो टोलीले आफूहरु निर्वाचित भएमा चुखाली जनताका लागि गर्ने विकास निर्माणका प्रतिबद्धताबारे बुझाउनुका साथै मतदाता शिक्षा समेत दिने गरेको वडा अध्यक्षका उम्मेदवार तामाङले बताउनुभयो ।
उहाँका अनुसार नेकपा एमालेको नेतृत्वमा चुखामा भएका र भइरहेका विकास निर्माणका काम र अब गर्नु पर्ने थप कामका विषयमा जनस्तरबाट राय लिने काम समेत अभियानको क्रममा हुनेछ ।
लामो समय शिक्षण पेशामा रहेका तामाङ कृषि तथा सहकारी क्षेत्रका समेत राम्रा जानकार रहेकोले चुखाली जनताको रोजाइमा पर्ने विश्लेषण गरिएको छ । शालिन,इमान्दार, दुरदृष्टि सोचका धनी तामाङको नेतृत्वमा रहेका उम्मेदवारहरु कहि न कहि विकासका अभियानमै जोडिएका पात्रहरु हुनुहुन्छ ।
घरदैलो अभियान सुरु गर्नु पूर्व नेकपा एमाले तेमाल वडा नं २ को वडा कमिटीले आफ्नो वडा स्तरीय प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको थियो ।
अभियानमा उम्मेदवारहरु सँगै सर्स्यूंखर्कका विकास अभियन्ता पूर्व गाविस अध्यक्ष एवं नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य संग्राम तामाङ,नेकपा एमाले वडा कमिटी,युवा,किसान,महिला जगतको उत्साहजनक सहभागिता रहेको छ ।
अभियान शुभारम्भ झलक-खादासहित सगुन ग्रहण गर्दै