स्वतन्त्र उम्मेद्वारहरुलाई हौसला

रोशी–तामाङ चलचित्र क्षेत्रबाट वेग्लै पहिचान बनाएका कलाकार एवं लामो समयदेखि नेपाली काँग्रेसमा सक्रिय विकु थोकरले काँग्रेस परित्याग गरेको घोषणा गर्नुभएको छ ।
पार्टीमा इमान्दार,लगनशील सिपाहीहरुको मुल्यांकन नभएको भन्दै गत चुनावदेखि नै उहाँमा एक किसिमको असन्तुष्टी थियो । यहि शिलशिलामा यो पटक वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मुखैमा काँग्रेस छाडेको घोषणा गर्नुभएको हो ।

थोकरले केहि दिन अघि रोशी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उठ्ने उद्घोष समेत गर्नुभएको थियो । नसा सम्बन्धी रोगका कारण हाल भारतको दिल्लीमा उपचाररत थोकरले आफु उपचारमा रहेकोले स्वतन्त्र उम्मेद्वारी दर्ता गर्न नसकेको पनि स्पष्ट पार्नुभएको छ ।

उहाँको फेसबुक सञ्जालमा उल्लेख छ–‘स्वस्थ उपचारको क्रममा केही समयदेखि नेपाल बाहिर रहेको हुदा काभ्रे जिल्ला रोशी गापा अध्यक्षको लागी स्वतन्त्र उम्मेद्वारी दिन असमर्थ रहेको कुरा सम्पुर्ण मेरा आफन्त मित्रजन तथा अग्रजहरुमा जानकारी गर्दछु,साथै आज मिति २०७९ बैशाख ११ गतेदेखि म आस्था रहेको नेपाली काँग्रेस पार्टीको कुनै पनि पद र साधारण सदस्य समेत नरहने जानकारी गराउँदै आजकै मितिदेखि कुनै पनि दलमा आवद्ध नभई स्वतन्त्र रहेको र पुनः स्वस्थ रहेमा फेरि पनि समाज समुदाय र देशको सेवमा निरन्तर लागि रहने प्रतिवद्धता जनाउँदछुु,अन्तमा मेरो स्वास्थ लाभको कामना गर्नु हुने तपाई सम्पुर्णमा हृदयदेखि धन्यवाद व्यक्त गर्दछु ।’

आफुले उम्मेद्वारी दर्ता गराउन नसकेपनि उहाँले रोशी गाउँपालिकामा विभिन्न पार्टीबाट विद्रोह गरी स्वतन्त्र रुपमा उम्मेद्वारी दिएकाहरुप्रति खुसी व्यक्त गर्नुभएको छ ।

यसबारे उहाँ भन्नुहुन्छ–‘काभ्रे रोशि गाउँ पालिकामा हाम्रो स्वतन्त्र उम्मेद्वार अभियान सुरु भएको छ,म अस्वस्थका कारण नेपाल बाहिर रहेपनि हाम्रो अभियानलाई साथ दिदै धमाधम उमेदवार दर्ता गर्नु भएकोमा रोशीकाा सम्पुर्ण स्वतन्त्र उम्मेद्वारहारुलाई हार्दिक शुभकामना तथा बधाई छ,हार जित ठाउँमा होला तर यो स्वतन्त्र उम्मेद्वार अभियानले पक्कै पनि केही समयमा नै जनताप्रती टेवा पुग्ने नतिजाहरु देखिदै जानेछ ।’

दलहरुभित्र देखिएको खेल फोहोरी प्रवृत्तिको रहेको,यसले रोशीमा समृद्धि नल्याउने आसय थोकरको छ । कसैको दास मनोविज्ञानबाट उठेर खुल्ला रुपमा आफ्नो गाउँ निर्माणको अभियानमा लाग्न जरुरी रहेको थोकरको सन्देश छ ।

व्यवसायी समेत रहेका कलाकार थोकर दिन दुखीहरुको साहराको रुपमा समेत चिनिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !