• शिशिर दोङ

काठमाडौं–नेपाली कम्युनिष्ट आन्दोलनमा आफ्नो जीवन अर्पेका काभ्रे तेमाल २ चुखाका सुकवीर (लालनन्द) तामाङ को निधन भएको छ । १० वर्षयता प्यारालाईसिस रोगबाट पिडीत उहाँको आईतबार विहान टिचिङ अस्पतालमा निधन भएको हो ।

उहाँको शनिबार बेलुका बौद्धसंस्कृति अनुसार दाहसंस्कार गरिएको छ । स्वर्गीय तामाङको पार्थिव शरीरमा नेकपा एमाले काभ्रे जिल्ला सचिवालय सदस्य इन्द्र तामाङको टोलीले पार्टीको झण्डा ओढाएर ससम्मान श्रद्धाञ्जली अर्पण गरेको थियो ।

श्रद्धाञ्जलीका लागि प्रेस चौतारी नेपालका केन्द्रिय महासचिव हिरामान लामा,नेकपा एमाले जिल्ला कमिटि सल्लाहकार संग्रामजीत लामा,उत्तरध्वज तामाङ,तेमाल वडा नं. २ का वडाध्यक्ष तिमाल सिं तामाङ,वडा सदस्य डिल्लीमान तामाङ,२ नं.वडा कमिटि अध्यक्ष वीरनन्द तामाङ,प्रेस चौतारी काभ्रेका सदस्य शिशिर दोङ लगायत पार्टीका नेता,कार्यकर्ता एवं शुभचिन्तक,आफन्तजनहरु सहभागि भएका थिए ।

श्रद्धाञ्जली अर्पण गर्दै नेकपा एमाले जिल्ला कमिटि काभ्रेका सचिवालय सदस्य इन्द्र तामाङले पार्टी र जनतलाई अतुलनीय क्षति पुगेको बताउनुभयो । सादा जीवन उच्च विचारका सुकवीर तामाङबाट नेपाली कम्युनिष्ट आन्दोलन,राजनीतिमा निष्ठा र इमान्दारिताको पाठ सदैव मिलिरहने उहाँको भनाई छ ।

एमाले नेता तथा कार्यकर्ताहरुले उहाँलाई एक कुशल संगठकको रुपमा लिएको र पार्टी एवं जनताप्रति गरेको योगदानको सम्मान गर्दै त्यसबाट उर्जा लिएर अघि बढ्ने प्रण गरेका छन् ।

झाँक्री तथा वोन शिक्षामा समेत दख्खल राख्ने उहाँ कम्युनिष्ट भएपछि विद्रोह गर्दै त्यसबाट अलग्गीनुभएको थियो । जसलाई एउटा सांस्कृतिक विद्रोहको प्रतिक मानिन्छ । तत्कालिन समाजमा त्यो सहज थिएन । कम्युनिष्ट विचार,सिद्धान्त बुझाउदै,जनवादी गीत,साहित्यबाट गाउँगाउँमा जागरण ल्याउने सुकवीर किसान,मजदुर,उत्पीडित वर्गको प्रिय नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।

विं.स. २०१० सालमा तेमाल चुखामा जन्मेका सुकवीर तामाङ २०३२ सालमा कम्युनिष्ट पार्टीप्रति आकर्षित हुनुभएको थियो । २०३३ सालमा प्रोन पार्टीमा आवद्ध भएका उहाँ २०३५ सालमा नोपल मजदुर किसान संघमार्फत क्रियाशिल हुनुभयो । २०३९ सालमा नेकपा तत्कालिन माले र २०४७ मा एमालेको जिल्ला सदस्य हुनुभएको थियो ।

निरन्तर कम्युनिष्ट आन्दोलनमा लागेका उहाँ संसदीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट काभ्रे क्षेत्र नं. १ बाट उम्मेद्वार हुनुहुन्थ्यो । २०५५ मा पुन : एमालेको राजनीतिमा लागेका उहाँ पछिल्लो दशक प्यारालाइसिस गरेगबाट थलिएपछि टिचिङ अस्पतालमा उपचाररत रहेकोमा आइतबार विहान ६९ वर्षको उमेरमा निधन भएको हो ।

तस्वीर : श्यामलाल तामाङबाट प्राप्त

प्रतिक्रिया दिनुहोस !