मौलिक पोसाक वितरण,नाचगान,सम्पदाहरुको अवलोकन
डहुन्हान–काभ्रेको तेमाल गाउँपालिका वडा नं. १ डहुन्हान–आधाबाटमा नयाँ वर्ष २०७९ को सुरुवातमा उत्साहका साथ ‘डहुन्हान सांस्कृतिक यात्रा एवं सांस्कृतिक कार्यक्रम’ सम्पन्न भएको छ । तामाङ समुदायको बाहुल्यता रहेको यो क्षेत्रका बालबालिकाहरुमा नैतिक शिक्षा एवं सांस्कृतिक जागरणका लागि तामाङ सांस्कृतिक पोसाक वितरणका साथै स्थानीय सांस्कृतिक सम्पदाहरुको अध्ययन अवलोकन कार्यक्रम गरिएको हो ।
वडा नं. १ को कार्यालय सस्र्यूंखर्कको सहयोग र सदगुण जागरण नेपालको आयोजनामा भएको कार्यक्रममा स्थानीय पञ्चकन्या आविमा अध्ययनरत ५० जना बालबालिकाले तामाङ पोसाक पाए ।
वडाभित्र रहेको पञ्कन्या देवी मन्दिर,धर्मखम्बा तथा शिव मन्दिर र मालडाँडा लामागाउँमा रहेको छ्योर्तेन तथा गुम्बाको अध्ययन अवलोकन कार्यक्रम समेत जोडिएको आयोजक संस्थाका सचिव बीरमान वल तामाङले जानकारी दिनुभयो ।
बालबालिकाका र स्थानीय जनमानसमा सदगुणको विकास,सामाजिक सद्भावको अभिवृद्धिका साथै मौलिक संस्कृति प्रवद्र्धनका लागि पोसाक वितरणका साथै स्थानीय धार्मिक एवं सास्कृतिक सम्पदाहरुको चिनारी स्वरुप यो कार्यक्रम आयोजना गरिएको सचिव तामाङले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार गत वर्षको तिहारमा देउसी भैलोबाट उठेको ४८ हजार रुपैयाँ दक्षिणामा थपेर १ लाख बराबरको तामाङ मौलिक पोसाक वितरण गरिएको छ । यस खालको कार्यक्रममा वडा कार्यालयले महत्वपूर्ण सहयोग गरेकोमा सचिव तामाङले धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष मान बहादुर श्रेष्ठले खास गरी पञ्चकन्या आविका बालबालिकाहरुमा सकारात्मक उर्जा प्रवाह गर्ने खालको गतिविधि गर्दै आएको सदगुण जागरण नेपाल तथा सदगुण बाल समुहको यो कार्यले आफूलाई खुसी तुल्याएको बताउनुभयो । तामाङ समुदायको संस्कृति लोप नहोस् भनेर आफू निर्वाचित भएर आएदेखि संस्कृति प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु गर्दै आएको उहाँको भनाई छ ।
निर्वाचित भएको सुरुवातकै वर्षमा लामा गुफा शिक्षा कार्यक्रम,२ वर्ष अघि ल्होछार कार्यक्रम गरेको उल्लेख गर्दै उहाँले गत वर्ष ताम्बा,गान्बा र लामाहरुसँग अन्र्तक्रिया र यो पटक सबै जातजातिको सांस्कृतिक सम्पदाहरुको चिनारीका लागि सांस्कृतिक यात्रा एवं सांस्कृतिक कार्यक्रममा सहयोग गरेको बताउनुभयो ।
२०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं. १ का जनताले अपार माया दिएर निर्वाचित भएपछि सडक,शिक्षा,स्वास्थ्य,कृषि लगायतका क्षेत्रमा धेरै कामहरु गर्न सकेको जनाउँदै उहाँले खानेपानीको काम समेत अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यसैक्रममा स्थानीय वडामा रहेका मठ मन्दिर,गुम्बा निर्माण तथा मर्मतसम्भारको कार्यमा समेत उल्लेखनीय काम भएको दावी गर्दै वडाध्यक्ष श्रेष्ठले भन्नुभयो–‘भौतिक विकासमा विशेष जोड नै दियौं,यति मात्रै नभएर संस्कृति प्रवद्र्धनका कार्यक्रम गर्ने क्रममा २ वर्ष अघि तेमाल फाउण्डेशनको आयोजनामा वडा नं. १ मा ल्होछार कार्यक्रम गर्दा नेवारको छोरो भएर तामाङको भावना बुझेर तेमालकै नमुना कार्यक्रमको रुपमा ल्होछार कार्यक्रममा सहयोग गरेको भनेर मलाई गाउँपालिका अध्यक्ष ज्युले समेत प्रशंसा गुर्नभएको थियो ।’
कार्यक्रममा पञ्चकन्या देवी मन्दिरका अध्यक्ष एवं पुजारी बीर बहादुर वाईबाले सो मन्दिरको ऐतिहासीक,धार्मिक एवं सांस्कृतिक महत्वको पाटो,विगत देखि वर्तमान सम्म निर्माण र मर्मत सम्भारको पक्षसम्मका विषय सुनाउनुभयो ।
देच्छेलीङ ह्युलम्हेन्दो गुम्बाका अध्यक्ष लाल बहादुर वाईबाले गुम्बाको निर्माणको औचित्यमाथि प्रकाश पार्नुभयो । त्यस्तै गोकुलेश्वर महादेव मन्दिरका अध्यक्ष पूर्ण बहादुर विकले पनि मन्दिरको धार्मिक आस्था र स्थापनाको आवश्यकताबारे स्पष्ट पार्नुभयो ।
स्थानीय विद्यार्थी सरस्वती तामाङले आफ्नो भेषभुषा र संस्कृतिसँग जोडिएको यस खालको कार्यक्रमले खुसी बनाएको बताउनुभयो । त्यस्तै रश्मि तामाङ,अस्मिता तामाङ,विजन तामाङ लगायत सबै बालबालिकाहरुको अनुभुति उत्साह र उमंगमय थियो । यसबाट आफुहरुले पनि समाजमा केही गरेर देखाउनु पर्छ भन्ने सोच जगाएको बालबालिकाहरुको भनाई छ ।
ति बालबालिकाहरुले तामाङ पोसक लगाएर नृत्य समेत प्रस्तुत गरेका थिए । नयाँ वर्ष आरम्भकै दिन भएको कार्यक्रमले स्थानीय अभिभावहरु पनि खुसी देखिन्थे । सबैले मौलिक खाजाको परिकार खाव्सेको स्वाद पनि लिएका थिए ।
डहुन्हानको पञ्चकन्या देवी मन्दिर परिसरमा भएको औपचारीक कार्यक्रमको समापन गर्दै आयोजक संस्थाका अध्यक्ष धनदाश तामाङले स्थानीय बालबालिका र अभिभावकहरुमा देखिएको उत्साहले आफूहरु हौसिएको बताउनुभयो । सदगुण जागरण नेपालले आगामी दिनहरुमा पनि समाजलाई सभ्य,सुसंस्कृत बनाउने खालका अभियानहरु जारी राख्ने उहाँको प्रतिवद्धता थियो ।
कार्यक्रममा अतिथिको रुपमा वडा सचिव अर्जुन पौडेल,पूर्व वडाध्यक्षहरु काजीमान तामाङ र कृष्णमान तामाङ,पञ्चकन्या देवी मन्दिरका अध्यक्ष एवं पुजारी बीरबहादुर वाईबा,कोषाध्यक्ष अन्तरे तामाङ,देच्छेलीङ ह्युलम्हेन्दो गुम्बाका अध्यक्ष लाल बहादुर वाईबा,पूर्व वडा सदस्य कान्छामान वाईबा,पञ्चकन्या आविका पूर्व अध्यक्ष डिल्लीमान वल र कान्छामान स्याङतान,पूर्व सदस्य रेशम लाल तामाङ,पञ्चकन्या आवि शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञान बहादुर स्याङतान,व्यवस्थापन समिति सदस्य हर्कमान वाईबा,शिक्षक प्रतिनिधि चित्र बहादुर वाईबा,युवा अभियन्ता सञ्जय(टिका) लामा,सलाम सिं तामाङ,सामुदायिक भवन निर्माण समितिका अध्यक्ष चमार सिं तामाङ,गोकुलेश्वर महादेव मन्दिर अध्यक्ष पूर्ण बहादुर विक,स्थानीय गान्बा आम्पाटे माइला तामाङ,झाँक्री पञ्च तामाङ,ताम्बा पंखे वाईबा ,नेपाल पत्रकार महासंघ काभ्रेका सहसचिव जगत तामाङ,तामाङ पत्रकार संघका केन्द्रिय सदस्य इकमान लामा,कृतिका घलान लागयत हुनुहुन्थ्यो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने डहुन्हान आधाबाटका सबै अभिभावकहरुलाई धन्यवाद ज्ञापन गर्दै अतिथिहरुलाई प्रशंसापत्र वितरणका साथै बालबालिकालाई सत्मार्ग,अहिंसा र शान्तिको सन्देश प्रवाहका लागि बुद्धको फोटो समेत हस्तारण गरिएको थियो ।
औपचारिक कार्यक्रम समापन पश्चात स्थानीय बालबालिकाका साथै तामाङ संस्कृति र इतिहासका जानकार मानिएका ताम्बा,गान्बा,बुद्धिजीवि लगायतको टोलीले सस्र्यूंखर्कको एतिहासीक धर्मखम्बा एवं नवनिर्मित शिव मन्दिर,लामागाउँको ऐतिहासीक बौद्ध छ्योर्तेन तथा मणिकपुर लामा गाउँ थर्पे देच्चेलिङ गुम्बा र गुरु पद्यसम्भव पार्कको अध्ययन अवलोकन भ्रमण गरेको थियो ।
टोलीलाई सो धार्मिक सांस्कृतिक क्षेत्रको इतिहास र महत्वबारेको जानकारी संस्कृतिका जानकार बीर बहादुर वाईबा र गान्बा झाँक्री पञ्च वाईबाले अवगत गराउनुभएको थियो भने कार्यक्रमको संयोजन आयोजक संस्थाका सचिव बीरमान वल तामाङले गर्नुभएको थियो ।
कार्यक्रम सफल बनाउन वडा कार्यालय,स्थानीय अभिभावक र स्वयं सेवकको रुपमा खटिएका रोश्नी ब्लोन,उर्मिला वाईबा,शान्ति तामाङ,झलकमान लोप्चनका साथै सदगुण बाल समूहका सबै बालबालिकाहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै आयोजकले सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
Photo:Ikman lama