तेमाल–काभ्रेको तेमाल गाउँपालिकाले मंगलबार जिल्लामै पहिलो पटक विदुर एवं एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । एक औपचारीक कार्यक्रमकाबीच पालिकाका ९ वटै वडाका ६०–७० उमेर समूहका विदुर पुरुष एवं एकल पुरुषले मासिक २ हजारका दरले भत्ता पाएका हुन् । यो आर्थिक वर्षको चैतसम्म ९ महिनाकै रेकर्ड हुनेले १८ हजारसम्म भत्ता बुझेका हुन् ।

भत्ता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष सलाम सिं तामाङले विदुर एवं एकल पुरुषहरुको पिडालाई बुझेर गाउँपालिकाले भत्ताको सुरुवात गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘यो संघ सरकारले हैन,प्रदेश सरकारले पनि हैन,हामी तेमाल गाउँपालिकाले हाम्रो आन्तरिक स्रोतबाट व्यवस्था गरिएको कार्यक्रम हो ।’

यो कार्यक्रम सुरुवातका लागि आफूले निकै संघर्ष गर्नुपरेको उहाँले बताउनुभयो । पालिकाले सडक,विद्युत,शिक्षा,स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको दावी गर्दै अध्यक्ष तामाङले यो पटक विदुर एवं एकल पुरुषहरुको भावनालाई सम्बोधनको प्रयास गरेको धारणा व्यक्त गर्नुभयो । अर्को निर्वाचनमा उम्मेद्वार भएमा साथै पुनः निर्वाचित भएर आएमा थप गरेर भत्ता दिने उहाँको प्रतिवद्धता छ ।

तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गा माया तामाङले यो कार्यक्रमको आवश्यकतामाथि चर्चा गर्दै कार्यन्वयनका लागि ६ महिना त कानुन बनाउनै लागेको बताउनुभयो । गाउँपालिकाको यस खालको कार्यक्रमबाट ६० कटेका विदुर पुरुषहरुले राहतको महसुस गर्ने उहाँको भनाई छ । अनेक रोग,एक्लोपनाले मानसिक रुपमा समेत समस्या झेलिरहेका उनिहरुमा यसले मलमको काम गर्ने उपाध्यक्ष तामाङको तर्क छ ।

साथै उहाँको प्रतिवद्धता छ–‘थुप्रै एकल एवं विदुर पुरुषहरु अहिले अस्पतालमै उपचारको क्रममा हुनुहुन्छ,उहाँहरुलाई स्वास्थ्य लाभको कामना गर्दछु,असक्त भएकाहरुलाई हामी घर घरमै पुगेर भत्ता दिने व्यवस्था गर्नेछौं,कोही माइक लाल आएपनि यो कार्यक्रम काट्न सक्दैन,यो निरन्तर अघि बढ्छ ।’

प्रमुख प्रशासकिय अधिकृत केदार प्रसाद ढकालले पनि यो कार्यक्रम निरन्तर अघि बढ्ने बताउनुभयो । उहाँले गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति,कार्यक्रम र बजेट अनुसार यो कार्यक्रम कार्यन्वयन गरिएको स्पष्ट पार्नुभयो ।

वडा नं. १ का वडा अध्यक्ष मान वहादुर श्रेष्ठले जनप्रतिनिधिहरुले आफ्नो दायित्व ठानेर यस खालको कार्यक्रम गरेको बताउनुभयो । आफ्नो वडाको तर्फबाट टोलटोल,वस्ती वस्ती पुगेर विदुर एवं एकल पुरुषहरुको खोजी गरि उनिहरुलाई यो कार्यक्रममा समावेश गर्न पाउनु खुसीको कुरा रहेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

स्थानीय सरकारको यस खालको कार्यक्रमप्रति विदूर एवं एकल पुरुषहरुले खुसी व्यक्त गरेका छन् । वडा नं. ६ का मान बहादुर तामाङले हेयाको दृष्टिमा जिन्दगी बाँचिरहेका विदुर एवं एकल पुरुषहरुका लागि यो कार्यक्रम ठूलो सम्मान रहेको बताउनुभयो ।

‘एकल महिलाहरुको भत्ता आउँछ,७० वर्ष पुगेकाहरुको भत्ता आउँछ,हामीलाई समस्या पर्दा कोही थिएन तर आज हाम्रो पालिकाले हामीलाई सम्झेको छ,यो धेरै खुसीको कुरा हो,हामीले यसलाई पालिका सरकारको आर्शिवादरुपी कर्म ठानेका छौं,हामीले विर्सन्नौं ।’

गाउँपालिकाका सामाजिक शाखा प्रमुख उद्धव प्रसाद पाण्डेले पालिकाले विदुर एवं एकल पुरुषहरुका लागि यो आर्थिक वर्षको साउनदेखि चैत सम्मको वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नामावली संकलन गर्नेक्रममा १०५ जनाको आएपनि प्रक्रिया पुरा भएका १ सय जना छन् । जसमध्ये ७६ जनाले मंगलबार पालिकामा आएर भत्ता बुझेका छन् ।

उहाँले अब यो भत्ता पनि बैंकिङ प्रणालीमार्फत भुक्तानीको व्यवस्था हुने जनाउनुभयो ।

कार्यक्रममा ७ नं वडा अध्यक्ष तथा पालिका प्रवक्ता ज्ञान बहादुर तामाङ,वडा नं ६ का वडा अध्यक्ष विकुलाल तामाङ,पालिकाका सूचना प्रविधि शाखा प्रमुख उज्वल लामाका साथै कार्यपालिका सदस्यहरु,पालिकाका अन्य कर्मचारी एवं वडा सचिवहरुको समेत उपस्थिति थियो ।

कुन वडामा कति विदुर एवं एकल पुरुष छन् ?

वडा नं १-६ जना

वडा नं २- १३ जना

वडा नं ३- ५ जना

वडा नं ४- ११ जना

वडा नं ५- १२ जना

वडा नं ६- १५ जना

वडा नं ७- १८ जना

वडा नं ८- १३ जना

वडा नं ९- ७ जना

भिडियोसहित :

photo : Chitra tamang/Samjhana dong tamang 

प्रतिक्रिया दिनुहोस !