
मादनकुडारी–काभ्रे जिल्लाको चौरीदेउराली सरकारले मुलुकको संयीघ गणतान्त्रिक राज्य व्यवस्था ल्याउन ज्यानको आहुती दिएका सहिदहरुलाई नविर्सेको सन्देश दिएको छ । यो स्थानीय सरकारले सहिदहरुको सम्झनामा वडा वडामा सालिक निर्माण गर्ने काम मात्रै हैन,शहिद परिवारलाई नगदसहित सम्मान गर्दै आफूहरुले सहिदको सपना नभुलेको स्पष्ट पारेको छ ।
यहि क्रममा वडा नं.५ कुडारीमा निर्माण सम्पन्न भएको १० जना सहिदहरुको अर्धकदको सालिक अनावरण गरिएको छ । सहिद सप्ताह मनाउने क्रममा गत बुधबार यहाँ आएका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज,बागमती प्रदेशका खेलकुदमन्त्री रत्न ढकाल,संघीय सांसद गंगाबहादुर दोङ(बमध्वज),संविधानसभा सदस्य पुर्वराज्यमन्त्री सूर्यमान दोङ (लालध्वज),संविधानसभा सदस्य तेज वहादुर मिजार लगायतले लगायतले सहिदको सपना पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । अनावरणसँगै यहाँ सहिदको सालिकमा खादा,माला,फूलको गुच्छा चढाएर सम्मान गरिएको थियो ।
संघीय सरकार युवा तथा खेलकुदमन्त्री गहतराजले सहिदहरुको वलिदानले प्राप्त गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेशीता जस्ता उपलब्धीमाथि गिद्धेनजर राख्नेहरुप्रति नेकपा माओवादी केन्द्र सचेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘यो त तपाईं हामी लडेर,हाम्रा आफन्त छोराछोरीको वलिदानबाट आएको हो व्यवस्था हो,यसलाई गुम्न नदिन हामी सदैव सचेत छौं ।’
यो व्यवस्थालाई संस्थागत गर्न माओवादी केन्द्र मात्रै प्रतिवद्ध रहेको उहाँको दावी छ । देश माओवादीको एजेण्डामा रहेको तर माओवादीलाई नै पाखा लगाउने चलखेल भएकोमा आपत्ति जनाउंदै उहाँले थप्नुभयो–‘यो व्यवस्थाका लागि नलड्नेहरुले स्वामित्व ग्रहण गर्ने र यो व्यवस्था नै धरापमा पर्ने गरी आज उनिहरु नै मोजमस्ती गर्न खोज्दैछन्,हाम्रो खवरदारी छ ।’
स्थानीय विकास निर्माणदेखि सहिदको सपना साकार पार्नेसम्मका उदाहरणीय कामहरु गरेको भन्दै मन्त्री गहतराजले चौंरीदेउराली गाउँपालिका र यहाँको नेतृत्वको प्रशंसा गर्नुभयो । सहिदको सपना पूर्ण रुपमा साकार पार्न तथा साँवा व्याज सहित असुलउपर गर्न भन्दै उहाँले चौंरीदेउराली लगायत देशभर माओवादीलाई जिताउन आह्वान गर्नुभयो ।
बागमती प्रदेशका खेलकुदमन्त्री ढकाल,संघीय सांसद बमध्वज,संविधानसभा सदस्य एवं पुर्वराज्यमन्त्री लालध्वज लगायतले माओवादी जनयुद्धको जगमा प्राप्त उपलब्धीलाई ध्वस्त पार्ने प्रतिगमनकारीहरुको षड्यन्त्र पुनः चकनाचुर पारेको बताउनुभयो । आफूहरु सदैव सहिद परिवार,जनताको घरदैलोमै रहेको उहाँहरुको भनाई थियो ।
गाउँपालिका प्रमुख दिननाथ गौतमले मुलुक परिवर्तनका क्रममा ज्यानको आहुती दिएका सहिदको सपना साकार पार्न पालिका सरकार लागि परेको स्पष्ट पार्नुभयो ।
सहिद परिवारलाई मासिक २/२ हजार नगदबाट सम्मान कार्यक्रम आर्थिक वर्ष २०७८/०७९ को पालिका नीति,कार्यक्रम र बजेटमार्फत नै गरेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनका बेला आफू र आफ्नो पार्टीको प्रतिवद्धता र घोषणापत्रमा भनेका सबै विकास निर्माणका कामहरु अब बाँकी नरहेको उहाँले बताउनुभयो । उहाँले कार्यन्वयन सुरु गरेर सम्पन्न हुन बाँकी केहि योजनाहरु नरोकिने पनि बताउनुभयो ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत महान दास लामाका अनुसार कुडारीमा आर्थिक वर्ष २०७७/०७८ को नीति,कार्यक्रम र बजेटको भावना अनुसार निर्माण सम्पन्न भएको सहिद सालिक अनावरण गरिएको हो ।
जनयुद्धका क्रममा बागमती प्रदेशकै सबैभन्दा बढी चौरीदेउराली गाउँपालिकाबाट २५ जना सहिद र १० जना बेपत्ता भएको र तीमध्ये चौरीदेउराली ५ बाट मात्रै १० जना सहिद भएको गाउँपालिकाले जनाएको छ । ति सबै शहिद परिवारलाई पालिकाले नगदसहित सम्मान गरेको हो ।
सालिक बनाएर आफ्ना आफन्तलाई सम्झेकोमा पालिका सरकारप्रति सहिद परिवारले गर्व महसुस गरेको बताएका छन् । सहिद बद्रीप्रसाद तिवारीका काका सूर्यप्रसाद तिवारीले आफ्ना भतिज यो देश र समाज परिवर्तनका लागि लागेको कुरा प्रमाणित भएको बताउँदै पालिकालाई धन्यवाद दिनुभयो ।