
काभ्रे–रोशी गाउँपालिकाका अध्यक्ष डिवि मोक्तान तामाङले तामाङको इतिहास सम्झेर अघि बढ्न तामाङ चलचित्रकर्मीहरुलाई आग्रह गर्नुभएको छ । काभ्रेको भकुण्डेमा तामाङ चलचित्रकर्मीहरुका लागि आयोजित ३ दिने कार्यशाला गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘हिजो भिमफेदीबाट गाडी बोक्ने मान्छे ,रानीवनबाट दाउरा बोक्ने मान्छे हौं हामी,त्यो इतिहासलाई सम्झेर अघि बढ्नुपर्छ ।’
अध्यक्ष मोक्तानले तामाङ जगतको इतिहास बोकेर तामाङ पहिचानको प्रबद्र्धनमा कलकारहरुको महत्वपूर्ण भुमिका रहने स्पष्ट पार्नुभयो ।।
तामाङ कलाकार र उनिहरूको गतिविधिबाट आफू टाढा नरहेको उल्लेख गर्दै उहाँले राम्रो कामलाई प्रत्साहन दिने,कमीजोरीप्रति खबरदारी गर्ने गरेको बताउनुभयो । तामाङ कलाकारहरुमा खुट्टा तान्ने प्रवृत्ति रहेको खुलासा गर्दै उहाँले यो प्रवृत्ति अन्त्य गरेर एक हुन शुभकामना व्यक्त गर्नुभयो । उहाँले चलचित्रकर्मीहरुको गुमेको अधिकार प्राप्तिका लागि तामाङ चलचित्र संघ गोलवद्ध हुन आवश्यक रहेको ठहर गर्नुभएको हो ।
रोशीका कलाकारहरुलाई रोशी कला परिषद् गठन गर्न गरेको सल्लाह पुरा नभएकोमा उहाँको असन्तुष्टि थियो । तामाङ कला संस्कृति संरक्षणमा वयक्तिगत रुपमा र गाउँपालिका पछि नपरेको जनाउँदै उहाँले यसमा अहिले सामाजिक सन्देश दिने खालको छोटो चलचित्र ‘सामाजिक सञ्जाल’ मा तामाङ चलचित्र संघसँग साझेदारी गरेको जानकारी दिनुभयो । अध्यक्ष मोक्तानले कुनै समय आफ्ना साथीभाईको संगतले चलचित्र हेर्न हल पुगेको र त्यो बखत हेरेको चलचित्र चित्त नबुझेर आफैं चलचित्र निर्माणमा लागेको विगत स्मरण गराउनुभयो ।
तामाङ चलचित्र क्षेत्रमा नयाँ कलाकारको उत्साहपूर्ण प्रवेश र स्थायीत्वको अपेक्षा गर्दै उहाँले ३ दिने गोष्ठीले यसका लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गुर्नभयो ।
‘तामाङ चलचित्रको बजार व्यवस्थापन तथा गुणस्तरीय तामाङ चलचित्र सम्बन्धि कार्यशाला गोष्ठी’ तामाङ चलचित्र संघ नेपालको आयोजना तथा चलचित्र विकास बोर्ड,आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवद्र्धन समितिको सहआयोजनामा भएको हो । गोष्ठीमा प्रम्ख अतिथि मोक्तानले सहभागिहरुलाई प्रमाणपत्र वितरण गगर्नुभयो ।
समारोहमा नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन बल तामाङले गोष्ठीले चलचित्रको संवद्र्धन, प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै राज्यका मुल धारका भनिएका चलचित्रहरुले जस्तै राज्यबाट पाउने सुविधा प्राप्तिमा दबाब पुग्ने बताउनुभयो । तामाङ चलचित्रको बजारको विषय उठाइरहदा यो पनि अर्थपूर्ण रहेको उहाँको तर्क छ । तामाङ चलचित्रबारे तामाङ संघसंस्था बेखबर रहनु दुखको कुरा रहेको औंल्यादै उहाँले यो परिस्थितिलाई बुझेर सहकार्य गर्न सबैको चासो आवश्यक रहेको धारणा राख्नुभयो ।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले तामाङ चलचित्र क्षेत्रले आशा गरेको भन्दा माथिल्लो स्तरका गोष्ठी पाएको दावी गर्नुभयो । तामाङ चलचित्रको स्वदेशदेखि विदेशसम्म प्रचारदेखि बजार प्रवद्र्धन सम्मको उपलब्धि हाँसिल गर्न यो गोष्ठी फलदायी हुने हुने उहाँको भनाई थियो । उहाँले चलचित्र प्राविधिक संघ सहकार्य यसमा गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा रोशी गाउँपालिका ११ का वडा अध्यक्ष मिलन मिप्चन तामाङले कुने बेला आफू पनि तामाङ चलचित्रकर्मी रहेको स्मरण गराउँदै अहिले राजनीतिमा लागेपनि कला जगतलाई नभुलेको बताउनुभयो । तामाङ चलचित्र क्षेत्रको विकासमा आफू सदैव साथमा रहने उहाँको प्रतिवद्धता छ ।
म्हेन्दोमाया कलाकार समाजका अध्यक्ष विगेन्द्र वाइबाले गोष्ठीबाट प्राप्त सीप व्यवहारमा उतार्न सके जीवन्त चलचित्रहरु बन्ने बताउनुभयो ।
ताम्सालिङ भनिएका क्षेत्रका हलहरुमा मात्रै तामाङ चलचित्र प्रदर्शन गर्ने वातावरण बनाउन सकिएमा तामाङ चलचित्रको बजारमा समस्या नदेखिने वाइबाले ठोक्कुवा गर्नुभयो ।
कार्यक्रमका सभापति तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले कोभिड लगायतका कारण गोष्ठी ढिला भएपनि सोचेको भन्दा राम्रो भएको दावी गर्नुभयो । यो गोष्ठी समापनसम्म आइपुग्दा चलचित्रका हरेक विधालाई समेट्न सकेको उहाँले बताउनुभयो ।
समापन समारोहमा प्रस्तुत गरिएका तामाङ कलाकारहरुको प्रस्तुतीले आफूलाई उर्जा मिलेको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘भर्खरका कलाकारदेखि पाका कलाकारसम्मका प्रस्तुतीहरुले सबैको मन छोएको छ,म्हेन्दोमाया,सेलो,र्याप गीत गाउनेदेखि नाच्ने,अभिनय गर्नेसम्म सबैलाई समेटेका छौं,तामाङ नायक नायिकाहरु रिल लाइफमा मात्रै हैन प्रत्यक्ष रुपमा पनि कला प्रस्तुतीमा अरुभन्दा कम छैन भन्ने सन्देश पनि दिएको छ ।’
कार्यक्रममा गायन,मोडलिङ,अभिनय,छायांकन लगायत क्षेत्रका सबैको सहभागिताले उत्साहित तुल्याएको उहाँको आसय थियो ।
‘एक दशकभन्दा बढि समय कलाकार मात्रै भइयो,अहिले संस्थाको नेतृत्वमा छु,सोचेजस्तो गाह्रो छ,सबैको सल्लाह सुझाव,सहयोग आवश्यक रहन्छ ।’–उहाँले थप्नुभयो ।
आफ्नो नेतृत्व पुर्ण जोस जाँगर साथ लाग्ने बताउँदै उहाँले तामाङ चलचित्र संघले डम्फू र ह्रेञ्जेनदोर्जेको बारे चलचित्र बनाउने सोच बनाएको जानकारी दिनुभयो ।
तामाङ चलचित्र संघले तामाङ चलचित्र इतिहासको सम्मान र संस्कृति संरक्षणका लागि सकारात्मक सन्देशसाथ ‘डम्फू’ र ‘सेमरी छोरङान वा जयनन्द’ सम्मान गर्ने निर्णय समेत गरिसकेको जानकारी दिनुभयो ।
अहिले तामाङ चलचित्र बनाउने आँट गर्न नसकेको संकटको अवस्था रहेको जनाउँदै अध्यक्ष कुमार मोक्तानले सहयोय सहकार्य आफैंबाट सुरु गरौं भनेर अघि बढ्ने क्रममा आफ्ना दाजु रोशी गाउँपालिकाका अध्यक्षसँग छफल गरी पालिकासँग सहकार्य थालिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘आज अरुसँग प्रतिस्पर्धा गर्ने एउटा पनि तामाङ चलचित्र नरहेको अवस्थामा यो सहकार्य महत्वपूर्ण हुनेछ ।’
कार्यक्रम सञ्चालिका तामाङ चलचित्र संघका महासचिव सुनिता लुङबाले तामाङ चलचित्रको विकासमा गोष्ठीले प्राविधिक पाटोदेखि,बजार प्रवद्र्धनसम्मका धेरै कुरा सिकाएको बताउनुभयो । यसको उपलब्धी हाँसिल गर्न सबैको सहकार्य रहेको उहाँको जोड थियो ।
राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम शाही, वरिष्ठ कलाकार अमृत लामा लगायतले पनि तामाङ चलचित्रकर्मीहरुको कामप्रति खुसी व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
समारोहमा म्हेन्दोमाया गायिका प्रेमा तामाङ,र्याप गायक तथा संगीतकार उत्तर लामा संगुल,गायक कर्म तामाङले सांगीतीक प्रस्तुती दिनुभयो भने भुईसाल तामाङ लगायतका कलकारहरुको मौलिक गीति नृत्य,गोकुल तामाङको हाँस्य नृत्य,कोम्हेन्दो मिडिया हाउसको तर्फबाट सेलो नृत्य,सुनिता दोङ र सागर घिसिङको युगल आधुनिक तामाङ गीतको मोडलिङ नृत्यले सबैको मन तानेको थियो,जसले गर्दा कार्यक्रमलाई उल्लासमय बनाउन भरपुर रुपमा सघाएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथि,अतिथि,सहयोगी,सञ्चारकर्मी लगायतलाई ससम्मान मायाको चिनो वितरण गरिएको थियो । गोष्ठीमा तामाङ चलचित्र संघका २९ र कला क्षेत्रमा रुचि बोकेर आएका नयाँ पुराना पुस्ताका दर्जन बढि सहभागि थिए ।