उपाधिसँगै ताज,१ लाख नगद र गिफ्ट ह्याम्पर
काठमाडौं–तामाङ संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तर गर्ने उद्धेश्यले हरेक वर्ष आयोजना हुदै आएको मिस तामाङ प्रतियोगिता अन्तर्गत यो पटकको ‘मिस तामाङ २०२२’ सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङ हुनुभएको छ ।
राष्ट्रिय सभागृहमा शनिवार साँझ सम्पन्न प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई उछन्दै स्याङ्बो विजेता बन्नुभएको हो । उहाँलाई मिस तामाङ २०२१ की विजेता सफलता तामाङले ताज पहिरिदिनुभयो । स्याङ्बोले उपाधिसँग एक लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नुभयो ।
फस्ट रनर अप भएकी काभ्रेकी पूजा तामाङले ५० हजार नगद पुरस्कार पाउनुभयो । काभ्रेकै डिजी लोप्चन सेकेन्ड रनरअप हुनुभएको छ,उहांले उपाधिसँगै नगद ३० हजार नगद हात पार्नुभयो । प्रतियोगिताको थर्ड रनरअप दोलखाकी प्रकृति पाख्रिन तामाङ हुनुभयो ।
मम्स इन्टरनेसनल नेपालको आयोजनामा भएको प्रतियोगिताको निर्णायकको रुपमा मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठ,तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडि मोक्तान,मिस तामाङ २०१७ पिंकी घिसिङ,फिल्म निर्देशक राज किङ वाइबा,माया फाउन्डेसनका अध्यक्ष डा दिलबहादुर थोकर हुनुहुन्थ्यो ।
सुरुको अडिसनमा विभिन्न जिल्लाका २७ तामाङ युवतीहरुले भाग लिएका थिए । सन् २००६ बाट शुरु भएको मिस तामाङको यो १४ औं संस्करण सफल भएको आयोजक संस्थाकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले बताउनुभयो ।