रिमे सम्प्रदायमा दर्ता भएको एक मात्रा गुम्बा
काठमाडौं-नाम्गेल ज्याङछ्युुब छ्योलिङ गुम्बाको प्राणप्रतिष्ठा गरिएको छ । गत माघ २७ र २८ गते बौद्ध तिनचुलीमा कपन गुम्बाका खेनरिन्पोछे गेसे थुुप्तेन छ्योनी र गुरु टुुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको सानिध्यतामा धार्मिक अनुष्ठान सहित गुम्बाको उद्घाटन तथा प्राणप्रतिष्ठान गरिएको हो ।
कार्यक्रमको पहिलो दिन लामा गुरुहरुद्वारा अध्यामिक शक्तिबाट ज्ञान काय बुद्ध आव्हान गरी निर्माण सम्पन्न गुम्बाको जीवन्यास (प्राण प्रतिष्ठान) गरिएको थियो ।
दोस्रो दिन विधिवत् रूपमा गुम्बा समुद्घाटन पश्चात् गुम्बा निर्माणमा साथ सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
संस्थागत रूपमा बौद्धनाथ क्षेत्र विकास समिति,बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति,नेपाल बौद्ध महायान केन्द्र, बौद्ध जागरण केन्द्र,नाम्ग्याल रिन्छेन मणि छोक्पा लगायतलाई सम्मान गरिएको थियो ।
व्यक्तित्व तर्फ बागमती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, कमला भज्यु,खेन्पो सर्वजित् गोङ्मा,रत्नबज्र लामा,सुर्यबज्र लामा,ग्याल्छेन लामा,विनोद लामा,कृष्णबहादुर लामा,सूर्य लामा,पूर्णसिंह लामा,सोनाम लामा,जयराम श्रेष्ठ,राजेश चित्रकार,सानुमाया योञ्जन लगायतलाई सम्मान गरिएको थियो।
गुम्बाका लागि बौद्ध,तिनचुलीका कमला भज्युुले १ रोपनी ४ आना ३ पैसा २ दाम क्षेत्रफलको जग्गा गुम्बा निर्माणको लागि २०६६ सालमा लोसाङ नाम्ग्याल रिन्पोछेलाई दान गर्नुभएको थियो । त्यसपश्चात् बौद्ध जागरण केन्द्रको अग्रसरता र धार्मिक श्रद्धावानहरूको सक्रियतामा थप १० आना २ दाम क्षेत्रफलको जग्गा २०७१ सालमा खरिद गरिएको थियो ।
गुम्बा टुुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको परिकल्पना अनुरूप बौद्ध दर्शन,शिक्षा र धर्मको संरक्षण प्रवर्द्धन गर्नको लागि २०६७ सालमा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिमा दर्ता भएको हो । गुम्बा विकास समिति अन्तर्गत रिमे सम्प्रदायमा दर्ता भएको उक्त गुम्बा एक मात्रा गुम्बा हो ।
गुम्बाले आफ्नो स्थापना कालदेखि नै उद्देश्य अनुरूप धार्मिक कार्यक्रम लगायतका गतिविधिहरू संचालन गर्दै आइरहेको छ । गुम्बामा २०७३ साल देखि विभिन्न जिल्लाका पच्चीस जना भिक्षुहरूलाई गुम्बा शिक्षालाई अघि बढाउन अध्यापन समेत गरिरहेको छ ।
अस्थायी संरचनामा सञ्चालित गुम्बा २०७५ कार्तिक ९ गते विधुत सट सर्किटको कारण आगलागी भएको थियो । आगलागीमा प्रार्थना भवन लगायत थुप्रै सामग्री जलेर ठूलो क्षति भएकोमा २०७५ माघ देखि गुम्बाको भूमिपूजा गरी निर्माण कार्यको प्रारम्भ भएको थियो ।
समाचार/फोटो : पेमा मोक्तान तामाङ